नेपाली उड्डयनकर्मीलाई उडान सुरक्षाबारे प्रशिक्षण दिन ईयूका विज्ञ काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली उड्डयनकर्मीहरूलाई उडान सुरक्षा लगायत विषयमा प्रशिक्षण दिन युरोपियन युनियनका दुई जना विज्ञ नेपाल आइपुगेका छन् ।

नेपाली उड्डयनकर्मीलाई उडान सुरक्षाबारे प्रशिक्षण दिन ईयूका विज्ञ काठमाडौंमा

युरोपियन युनियन अर्न्तगत उडान सुरक्षा एजेन्सीका उडान सुरक्षा विज्ञ डा. हेजल कटेनी र साइमन रोबर्ट नेपाल आइपुगेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान सुरक्षा व्यवस्थापन निरीक्षक प्रज्वल ढुंगानाका अनुसार सोमबारदेखि सुरु भएको पाँचदिने प्रशिक्षणमा विज्ञहरूले उडान सुरक्षा नीति, सुरक्षा जोखिम व्यवस्थापन, उडान सुरक्षा प्रत्याभूति, दुर्घटना छानबिन तथा सिफारिस कार्यान्वयन, उडान सुरक्षा स्तरवृद्धि लगायत विषयमा तालिम दिनेछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा भएको प्रशिक्षणमा प्राधिकरण र यस अन्तर्गतका विभिन्न कार्यालय, २२ वटा नेपाली वायुसेवा कम्पनी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी गरी २ सय ५० जना रहेका छन् ।

उडान सुरक्षा अभिवृद्धि अभियानको उद्घाटनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जटिल भौगोलिक स्थिति, भू–बनावट जस्ता पृथक एवं चुनौतीपूर्ण परिदृश्यबीच नेपालको हवाई क्षेत्रमा उडान सुरक्षा जोखिम न्यूनीकरणमा प्राधिकरणले काम गरिरहेको बताएका थिए ।

यस क्रममा ईयू लगायतका निकायसँग सहकार्य गर्दै प्राधिकरणले हवाई सुरक्षा अभिवृद्धि गराउन तालिम आयोजना गरेको उनले बताए ।

युरोपियन युनियनको दक्षिण प्रशान्तीय उड्डयन साझेदारी परियोजना अन्तर्गतको प्राविधिक सहयोगमा प्राधिकरणले यो प्रशिक्षण आयोजना गरेको जनाएको छ ।

यस अभियानको दोश्रो र तेस्रो दिन उडान सुरक्षा जोखिम तथा घटना छानबिन विषयक तालिम, चौथो दिन हेलिकोप्टर्स तथा विमानस्थल अपरेटर्सहरुलाई उडान सुरक्षा व्यवस्थापन तालिम र पाचौं दिन वायुसेवा कम्पनीका संचालकहरुलाई उडान सुरक्षा व्यवस्थापन प्रणाली तथा प्राधिकरण र मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुलाई राष्ट्रिय सुरक्षा कार्यक्रम कार्यान्वयनबारे प्रशिक्षण दिइने छ ।

ईयूले पछिल्ला वर्षहरूमा हवाई सुरक्षा लगायत व्यवस्थापकीय विषयमा नेपालसहित दक्षिण एशियाली मुलुकहरु अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, भारत र माल्दिभ्सका क्षमता विस्तारमा सघाउँदै आएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?