उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ अधिकारी झाङबीच भेटवार्ता

काठमाडौँ — उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था 'काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड' (सीसीपीआईटी)का उपाध्यक्ष झाङ साओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो। त्यस क्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भ्रमण सफलताको शुभकामना दिएका थिए ।
साथै नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुकको रुपमा चिनियाँ लगानी नेपालमा सधैँ स्वागत गरिने मन्त्री श्रेष्ठले बताएका थिए । यस्तै नेपालमा हाल लगानीमैत्री वातावरण भएको पनि उनले स्मरण गराएका थिए ।
केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औंल्याएका थिए । चीन नेपालको दोस्रो ब्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल ब्यापार घाटा धेरै भएकाले त्यसलाई घटाउन आपसी समझदारीका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
भेटको क्रममा मन्त्री श्रेष्ठले नेपालको एक चीन नीतिप्रतिको दृढता दोहोर्याएका थिए । श्रेष्ठले यस क्रममा तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सी चिनफिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाइ दिँदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
उपाध्यक्ष झाङले झण्डै चार वर्ष लामो कोभिड संक्रमणले चीनको वैदेशिक लगानी तथा ब्यापारमा असर परे पनि चीन अब कोभिडबाट खुला र सहज भएको बताए । कोभिडका कारण चीन र नेपालबीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट ब्यापारमा समेत असर परेको उनले बताए । नेपाल आफूहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको झाङको भनाइ थियो ।
झाङले नेपालले ठूलो प्रविधियुक्त उद्योग निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उपमन्त्री तहका चिनियाँ अधिकारी झाङ नेपालका लागि चिनियाँ राजदूत छन् सोङसहित शिष्टाचार भेटवार्तामा आएका थिए ।
प्रकाशित : फाल्गुन २९, २०७९ १७:०१