मेयर हारेकी ममता झा बनिन् उपराष्ट्रपति उम्मेदवार- समाचार - कान्तिपुर समाचार

मेयर हारेकी ममता झा बनिन् उपराष्ट्रपति उम्मेदवार

साझामा अध्यक्ष हुँदा भ्रष्टाचार आरोप लागेकाबारे झाले भनिन्, ‘त्यस्तो केही छैन, कुनै मुद्दा पनि छैन ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत पार्टीबाट सप्तरीको राजविराज नगरपालिकामा मेयरकी प्रत्याशी ममता झा उपराष्ट्रपतिमा उम्मेदवार बनेकी छिन् । उनले शनिबार उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । जनमत पार्टीबाट उम्मेदवारी दिएकी उनलाई नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक पार्टीले समर्थन गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले भने आफूहरूलाई १० दलीय गठबन्धनको समेत समर्थन रहेको दाबी गरेका छन् ।

उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी झा जनमत पार्टीकी सप्तरी जिल्ला इन्चार्ज हुन् । उनी स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदकी उम्मेदवार थिइन् । मेयर पदको निर्वाचनमा सातौं स्थानमा रहेकी उनले ९२२ मत ल्याएकी थिइन् । मेयरमा निर्वाचित जनता समाजवादी पार्टीका भिमराज यादवले भने ९ हजार ६ सय २४ मत ल्याएका थिए ।

साझा प्रकाशनकी पूर्वअध्यक्ष झा भ्रष्टाचार मुद्दा परेपछि पदबाट राजीनामा दिएकी थिइन् । साझामा भ्रष्टाचार गरेको विषयमा झाले कुनै प्रतिक्रिया दिइनन् । तर, अहिले त्यसबारे कुनै पनि मुद्धा नरहेको उनको भनाइ छ । तपाईंलाई साझाको अध्यक्ष हुँदा भ्रष्टाचारको आरोप छ थियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा झाले भनिन्, ‘त्यस्तो केही छैन, कुनै मुद्दा पनि छैन ।’

साझाको अध्यक्ष बनेकी झाविरुद्ध न्यूनतम शैक्षिक योग्यतासमेत नभएका माधवप्रसाद थपलियालाई बदनियतपूर्ण तरिकाले नियुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख ६६ हजार जरिवाना र सजाय दाबी गर्दै २०७० बैशाख ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनले २०७१ जेठ १० मा राजीनामा दिएकी थिइन् ।

प्रकाशित : फाल्गुन २७, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन, बरु मित्रवत् प्रतिस्पर्धामा जान्छौँ : सीके राउत

कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले उपराष्ट्रपति पदमा पार्टीको उम्मेदवारी फिर्ता नहुने बताएका छन् । शनिबार संसद् भवन बानेश्वरमा उम्मेदवारी मनोनयनपछि अध्यक्ष राउतले सत्ता गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पदमा दाबी गरेको, र जनमत पार्टीको उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार हुने विश्वास व्यक्त गरे ।

‘अहिले गठबन्धनमा भएको छलफलबमोजिम नै हामीले उम्मेदवारी दिएका छौँ । गठबन्धनकै निर्णयअनुसार तीन जनाको उम्मेदवारी परेको हो । जुन हिसाबले निर्वाचन आयोगले संविधानको धारा ३८ (४) लाई टेकेर निर्णय गरेको छ, र संविधानको मर्म पनि महिला नै हुनुपर्छ भन्ने छ,’ उनले भने, ‘हामीले त्यहीअनुसार महिला, त्यो पनि कानुनको ब्याकग्राउन्ड भएको महिलालाई उम्मेदवार बनाएका छौँ, त्यसमा हाम्रो सशक्त दाबी रहन्छ ।’

उनले अझै पनि गठबन्धनबाट जनमत पार्टीकै उम्मेदवारलाई आधिकारिक बनाउन प्रयास गर्ने बताए । ‘हामी अधिकारको लडाइँमा छौँ । यदि गठबन्धनमा हामीलाई समर्थन भएन भने पनि हामी उम्मेदवारी फिर्ता लिदैनौँ,’ उनले भने, ‘हामी मित्रवत् प्रतिस्पर्धामा जान्छौँ । हाम्रो उम्मेदवारी फिर्ता हुँदैन ।’

जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनलाई नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छन् । जनता समाजवादी पार्टीबाट पनि संसदीय दलका नेता रामसहाय प्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन २७, २०७९ १४:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×