उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन, बरु मित्रवत् प्रतिस्पर्धामा जान्छौँ : सीके राउत

कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले उपराष्ट्रपति पदमा पार्टीको उम्मेदवारी फिर्ता नहुने बताएका छन् । शनिबार संसद् भवन बानेश्वरमा उम्मेदवारी मनोनयनपछि अध्यक्ष राउतले सत्ता गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पदमा दाबी गरेको, र जनमत पार्टीको उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन, बरु मित्रवत् प्रतिस्पर्धामा जान्छौँ : सीके राउत

‘अहिले गठबन्धनमा भएको छलफलबमोजिम नै हामीले उम्मेदवारी दिएका छौँ । गठबन्धनकै निर्णयअनुसार तीन जनाको उम्मेदवारी परेको हो । जुन हिसाबले निर्वाचन आयोगले संविधानको धारा ३८ (४) लाई टेकेर निर्णय गरेको छ, र संविधानको मर्म पनि महिला नै हुनुपर्छ भन्ने छ,’ उनले भने, ‘हामीले त्यहीअनुसार महिला, त्यो पनि कानुनको ब्याकग्राउन्ड भएको महिलालाई उम्मेदवार बनाएका छौँ, त्यसमा हाम्रो सशक्त दाबी रहन्छ ।’

उनले अझै पनि गठबन्धनबाट जनमत पार्टीकै उम्मेदवारलाई आधिकारिक बनाउन प्रयास गर्ने बताए । ‘हामी अधिकारको लडाइँमा छौँ । यदि गठबन्धनमा हामीलाई समर्थन भएन भने पनि हामी उम्मेदवारी फिर्ता लिदैनौँ,’ उनले भने, ‘हामी मित्रवत् प्रतिस्पर्धामा जान्छौँ । हाम्रो उम्मेदवारी फिर्ता हुँदैन ।’

जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनलाई नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छन् । जनता समाजवादी पार्टीबाट पनि संसदीय दलका नेता रामसहाय प्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन २७, २०७९ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?