३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

उपराष्ट्रपति जसपालाई नदिन दबाब

जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेश गर्न नदिने लोसपा, जनमत र नागरिक उन्मुक्तिको रणनीति, कांग्रेस र माओवादी नेताको पनि बोली फेरियो, आठदलीय गठबन्धनमा मतभेद
उपराष्ट्रपति जसपाले पाउने सहमति भएको हो, सोहीअनुसार पार्टीले उम्मेदवार अघि सारिसकेको छ, गठबन्धनमा सहमति भए साझा उम्मेदवारका रूपमा रामसहायप्रसाद यादवले मनोनयन दर्ता गर्नु हुन्छ, नभए प्रतिस्पर्धा हुन्छ ।- उपेन्द्र यादव
बबिता शर्मा

काठमाडौँ — तराई–मधेशकेन्द्रित दलहरूले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति नदिन ‘लबिइङ’ थालेपछि शक्ति बाँडफाँटलाई लिएर आठदलीय सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ । लोसपा, जनमत र नागरिक उन्मुक्तिले जसपालाई उपराष्ट्रपति नदिन दबाब बढाएसँगै कांग्रेस र माओवादी नेताको पनि बोली फेरिएको छ ।

उपराष्ट्रपति जसपालाई नदिन दबाब

नयाँ समीकरण बन्ने बेला माघ २८ मा राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने ‘समझदारी’ भएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि भने जसपालाई उपराष्ट्रपति दिनेबारे मतभेद देखिएको हो । जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय बिहीबारै गरिसकेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले बारा–२ बाट निर्वाचित रामसहायलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत संसद् प्रवेश गर्न चाहेका छन् । स्रोतका अनुसार यादवलाई संसद् आउन रोक्ने रणनीतिअन्तर्गत अहिले उपराष्ट्रपति जसपाबाहिरबाट खोज्ने प्रयास भएको हो । यादवलाई रोक्ने प्रयासमा लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता छन् ।

सोही रणनीतिअनुसार जनमत र नागरिक उन्मुक्तिका नेताहरूले आठ दलबीच उपराष्ट्रपतिबारे सहमति नभएको भन्दै आ–आफ्ना उम्मेदवार अघि सारेका छन् । जनमतले ममता झालाई र नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । तर उपराष्ट्रपति पदका लागि चाहिने ४५ वर्ष उमेर पूरा नभएकाले श्रेष्ठ उम्मेदवार बन्न पाउने छैनन् ।

जसपा अध्यक्ष यादव उपराष्ट्रपतिमा रामसहायकै उम्मेदवारी दर्ता हुने बताउँछन् । ‘कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको बीचमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको हो, सोहीअनुसार पार्टीले उम्मेदवार अघि सारिसकेको छ,’ अध्यक्ष यादवले भने, ‘शनिबार गठबन्धनको बैठक बस्छ, त्यहाँ सहमति भए साझा उम्मेदवारका रूपमा रामसहायप्रसाद यादवले मनोनयन दर्ता गर्नु हुन्छ, नभए प्रतिस्पर्धा हुन्छ ।’

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार उपराष्ट्रपतिमा सहमति हुन बाँकी रहेको बताएका छन् । ‘जसपालाई उपराष्ट्रपति दिने कुरा ८ दलको बीचमा प्रवेश

गरिसकेको छैन,’ उनले भने, ‘उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र सहमति भएका छन्, प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नु हुनेछ, सम्बन्धित दल र नेताहरूको

बैठक बोलाएर औपचारिक रूपमा निर्णय लिन्छौं ।’ उनले दलहरूबीच सहमति गरेर उपराष्ट्रपति निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।

कांग्रेस र माओवादी नेताहरू उपराष्ट्रपतिसहित मन्त्रालय भागबन्डा प्याकेजमा गर्ने दाउमा छन् । उपराष्ट्रपतिका लागि शनिबार मनोनयन र चैत ३ मा निर्वाचन गर्ने कार्यतालिका छ ।

नागरिक उन्मुक्ति अध्यक्ष श्रेष्ठले आफ्नो उमेर नपुगेका कारण जनमत पार्टीले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्ने बताएकी छन् । ‘मेरो उमेर पुगेन, जनमत पार्टीले ममताजीलाई अघि सारेको छ, उहाँलाई नै हाम्रो समर्थन रहन्छ,’ उनले भनिन्, ‘शनिबार प्रधानमन्त्रीले आठ दलको बैठक बोलाउनुभएको छ, त्यहाँ पनि छलफल हुन्छ ।’ जसपालाई उपराष्ट्रपति दिने चार दलबीचको समझदारी आफ्नो जानकारीमा नभएको उनको भनाइ छ । जसपाबाट अघि सार्ने उपराष्ट्रपतिमा समर्थन गर्नेबारे श्रेष्ठ भन्छिन्, ‘त्यो त पार्टीको बैठक बसेर नै निर्णय गर्नुपर्ने हुन्छ । मैले मात्रै भनेर हुँदैन ।’

गठबन्धनका एक शीर्ष नेताले चार दलबीच उपराष्ट्रपति जसपालाई दिने सहमति भएको तर अहिले नयाँ तरिकाले छलफल अगाडि बढेको बताउँछन् । उनका अनुसार जसपालाई उपराष्ट्रपति र अन्य दललाई रोजाइको मन्त्रालय दिएर सहमति खोज्न सकिने सम्भावना कायमै छ । ती नेताका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक छन् । यसअघि उपराष्ट्रपति माओवादीले लिने सहमति भएको थियो । जसपाले दाहाललाई विश्वासको मत दिन तयार भएपछि उपराष्ट्रपतिमा माओवादीले अडान छाडेको नेताहरूले बताएका थिए ।

माओवादी महासचिव देव गुरुङले उपराष्ट्रपति जसपालाई दिने सहमतिबारे आफू जानकार नभएको बताए । ‘पहिला छलफल हुँदा राष्ट्रिय सभाको उपाध्यक्ष दिने कुरा भएको थियो, रुचि नदेखाएपछि माओवादीले लियो,’ उनले भने, ‘उहाँहरूले आफ्ना एक सांसदलाई राजीनामा दिन लगाएर त्यो ठाउँ खाली गर्नुपर्नेछ भन्ने कुरा थियो । सोहीअनुसार पछिल्लो समय नेताहरूबीच केही समझदारी भएको भए मेरो जानकारीमा छैन ।’

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि चार दलका बीचमा छलफल हुँदा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको बताए । ‘चार दलको बीचमा उपराष्ट्रपति जसपाले पाउने समझदारी बनेकै हो,’ उनले भने, ‘पछि अन्य दल पनि गठबन्धनमा समावेश भए । त्यसकारण यसबारे छलफल गर्न शनिबार बिहान आठ दलको बैठक बस्दै छ । बैठकमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाउन कोसिस हुन्छ ।’ यसैबीच माओवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष अमृता थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपतिमा महिलालाई अघि सार्न अपिल गरेकी छन् ।

प्रकाशित : फाल्गुन २७, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?