१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको फोटो

पहिलेको निर्वाचनमा मतपत्रमा उम्मेदवारको नाम मात्रै हुन्थ्यो
संघ र प्रदेशका सांसदले बिहीबार बिहान १० देखि ३ बजेसम्म मतदान गर्दै, आयोग भन्छ– बेलुकी ७ बजेभित्र परिणाम आइसक्छ
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यस पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । 

राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको फोटो

बिहीबार हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल एमालेबाट उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन् । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।

संघीय संसद्का ३ सय ३४ मतदातामध्ये मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । चितवन निर्वाचन क्षेत्र २ रिक्त छ । जनता समाजवादी पार्टीका समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो । सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन् । निर्वाचन अधिकृत कार्यालयकी सूचना अधिकारी अमृता भण्डारीले बिहीबार हुने निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिइन् । एउटा मतदान केन्द्रमा ७ कर्मचारी खटिनेछन् । मतदान बिहीबार बिहान १० देखि ३ बजेसम्म बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

संघीय र प्रदेश सांसदका लागि फरक रङको ९ सय ९० मतपत्र छापिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि छापिएको मतपत्रमा सेतो पृष्ठभूमिमा गुलाबी रङको अक्षर छ । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रमा सेतो पृष्ठभूमिमा हरियो रङको अक्षर छ । मतपत्रको पहिलो कोठामा सत्ता गठबन्धनका उम्मेदवार पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार नेम्वाङको फोटो छ । मत बदर कम गर्न यसपालि फोटोसमेत राखिएको प्रवक्ता पौडेलको भनाइ छ । मतगणना सकिएलगत्तै मत गन्ने आयोगको तयारी छ । ‘बेलुका ७ बजेसम्म परिणाम आइसक्छ,’ प्रवक्ता पौडेलले भने ।

आयोगले राष्ट्रपति निर्वाचनका लागि तोकेको मौन अवधि सोमबार राति नै सुरु भइसकेको छ । यस अवधिमा प्रचारप्रसार गर्न पाइँदैन । राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारले निर्वाचन प्रयोजनका लागि चार लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ । उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया फागुन २७ मा सुरु हुने आयोगले जनाएको छ । निर्वाचन भने चैत ३ मा हुनेछ ।

राष्ट्रपतिका उम्मेदवार पौडेललाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । नेम्वाङलाई एमालेको समर्थन छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले कसलाई मत दिने भन्नेबारेमा निर्णय लिएका छैनन् । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भइसकेकाले ती राजनीतिक दलले अब कुनै पनि उम्मेदवारको पक्षमा औपचारिक निर्णय गर्न पाउने छैनन् । अनौपचारिक तहमा पनि मंगलबारसम्म यी दलले आफ्ना सांसदलाई कुनै संकेत गरेका छैनन् ।

प्रकाशित : फाल्गुन २४, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?