२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वास्तविक भूमिहीनको नाममा जग्गा दर्ता गर्न माग

कृष्ण थापा

नुवाकोट — वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराई उनीहरुको नाममा दर्ता गर्न, बिर्ता र गुठी समस्या समाधान गर्न जिल्ला भूमि अधिकार मञ्च नुवाकोटले माग गरेको छ । जिल्लामा १ हजारभन्दा बढी परिवारले जोतभोग गरिरहेका छन् भने २ हजारभन्दा बढी रोपनी जमिन बिर्ता जग्गामा आस्रित किसान छन् । 

बिर्ता जग्गा दर्ता र गुठी समस्याले पीडितको समस्या समाधान गरी लालपुर्जा दिन मञ्चले सरकारसँग माग गरेको हो । मञ्चले सबै स्थानीय तहहरुमा भूउपयोग योजना तर्जुमा प्रक्रिया अघि बढाई दीर्घकालीन उपयोग र समुचित व्यवस्थापन गर्नसमेत ध्यानाकर्षण गराएको छ । मञ्चले महिला र पुरुषको संयुक्त लालपुर्जा, महिला किसानको भूस्वामित्व कायम र कार्यान्वयनका लागि समेत माग गरेको छ ।

यसैबीच शुक्रबार मञ्चको तेस्रो जिल्ला अधिवेशनले विन्दा नेपालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष बिलभद्र नेपाल, सचिव रामचन्द्र गजुरेल, कोषाध्यक्ष पविना भट्ट र सहसचिवमा रणबहादुर तामाङ चयन भएका छन् । जिल्लामा रहेका बिर्ता, गुठी, भूमिहीन एवम् सुकुम्बासी र साना किसानका समस्या समाधानका लागि चार बुँदे मागसहित प्रतिबद्धता र घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा बिर्ता, गुठी, भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय र सहकारी गर्ने उल्लेख छ । मञ्चअन्तर्गत पालिका, वडा र समुदायस्तरको संगठनलाई अझ सशक्त र सक्रिय बनाएर अघि बढ्ने जनाइएको छ ।

मञ्चको प्रतिवेदनअनुसार जिल्लामा २२ गाउँ मञ्चमा ४ सय ६६ भूमिबाट बन्चित परिवार, १ सय ५७ परिवारको संयुक्त लालपुर्जा प्राप्ति, २ सय १८ परिवार विस्थापितको जग्गा खरिद कार्य, १ सय ५८ भूमिहीनका लागि अनुदानबाट जग्गा खरिद र आवास पुनर्निर्माण कार्यमा सहयोग गरेको उल्लेख छ ।

प्रकाशित : फाल्गुन १९, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?