२०४६ सालयताका भ्रष्टहरूमाथि छानिबन गरौं : अध्यक्ष तिमिल्सिना

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । 

२०४६ सालयताका भ्रष्टहरूमाथि छानिबन गरौं : अध्यक्ष तिमिल्सिना

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरूले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले २०४६ सालयताका भ्रष्टहरुलाई छानबिन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमतीनै गरेर अघि बढनुपर्ने बताए । भ्रष्टहरुलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिवद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उनको भनाइ छ ।

‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा राष्टिय सहमति आज आवश्यक छ । संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, पदाधिकारी, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीबीच एउटा राष्ट्रिय सहमति गरौं । त्यो सहमति भनेको भ्रष्टाचार नियन्त्रण्या गर्ने । भ्रष्टाचारलाई कारबाही गर्ने । कारबाही गर्नका लागि अहिले एउटा राष्ट्रिय सहमति बनाऔं । त्यो हुँदा आजका दिनसम्म बहुदल आएयता आजसम्म जे–जे विषयमा चाहे त्यो विमान खरिदमा होस् । नियुक्ति गर्दा होस् । जग्गाका कुरा होलान् । के होलान् ? ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानबिन गरौं । म, हामी जो परे पनि जेल जानेसम्मको कारबाही गर्न सकिन्छ भन्न सकिन्न हामीले ? त्यो सहमति पो राष्ट्रिय सहमति हो । जनताको लागि गरिएको सहमति हो । सुशासनका लागि गरिएको सहमति हो,’ उनले भने ।

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरुलाई सशक्त बनाउनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित : फाल्गुन १९, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?