कांग्रेसबाट प्रतिफल दिन सक्ने व्यक्तिलाई मन्त्री बनाउन सभापति देउवा सकारात्मक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिफल दिन सक्ने व्यक्तिलाई मन्त्री बनाउने बताएका छन् । उनले सरकारमा पठाउने मन्त्री छान्न मापदण्ड बनाउने र त्यसका आधारमा मन्त्रीहरुको छनोट गर्ने विषयमा पार्टीभित्र नेताहरुसँग छलफल गर्ने आश्वासन समेत दिएका छन् ।

कांग्रेसबाट प्रतिफल दिन सक्ने व्यक्तिलाई मन्त्री बनाउन सभापति देउवा सकारात्मक

मंगलबार बिहान देउवालाई भेटेका केन्द्रीय सदस्य एवम् पूर्वसांसद प्रकाश रसाइली 'स्नेही'ले मापदण्ड बनाएर मात्रै मन्त्री छनोट गर्नुपर्ने माग राखेका थिए ।

जवाफमा सभापति देउवाले मापदण्ड बनाउने विषयमा आफू सकारात्मक रहेको भन्दै त्यसबारे पार्टीभित्र छलफल गर्ने बताए । सभापति देउवाले प्रतिफल दिन सक्ने व्यक्तिहरुलाई मन्त्री बनाउन आफू पनि सकारात्मक रहेको बताएको नेता रसाइलीले बताए । 'अहिलेको राजनीतिक परिवेश नै त्यस्तै छ । सकेसम्म प्रतिफल दिने मान्छेलाई नै मन्त्री बनाउने हो । म त्यसबारे छलफल गर्छु,' देउवालाई उदृत गर्दै नेता रसाइलीले इकान्तिपुरसँग भने । रसाइली कोइराला समूहका नेता हुन् ।

संसद्‌को पहिलो ठूलो दल भएपनि प्रतिपक्षमा रहेको कांग्रेस राष्ट्रपति निर्वाचनपछि सरकारमा सहभागी हुने तयारीमा छ । पार्टी सरकारमा जाने भएपछि कांग्रेसमा मन्त्री बन्न आकांक्षीहरुले दौडधुप बढाएका छन् ।संसद्‌मा नरहेका केन्द्रीय सदस्य र नेताहरुले भने पार्टीबाट प्रतिफल दिन सक्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउनुपर्ने माग गरिरहेका छन् ।

सभापति देउवालाई भेटेर नेता रसाइलीले आफूले मन्त्री छान्ने विषयमा पार्टीले मापदण्ड समिति बनाउनुपर्ने र गुटका आधारमा नभइ विज्ञता र विगतको परफर्मेन्स हेरेर मात्रै जिम्मेवारी दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएको बताए ।

‘पार्टीले एउटै व्यक्तले गुटको नाममा पटक-पटक अवसर पाउने तर त्यसको प्रतिफल नआउने विगतदेखिको समस्या छ । जसले मन्त्री बनेर पार्टी, देश र आफ्नै राजनीतिक करिअरमा समेत कुनै आधार बनाउन सक्दैन, त्यस्ता व्यक्तिहरुलाई पटक-पटक अवसर दिइनुहुन्नँ,' सभापति देउवालाई सुझाव दिएको सुनाउँदै नेता रसाइलीले भने, 'मन्त्रीका कामको मूल्यांकन र अनुगमन गर्न उच्चस्तरीय संयन्त्र बनाइनुपर्छ । त्यसमा मन्त्रीहरुले तीन-तीन महिनामा प्रगति पेश गर्ने र जानकारी दिने गर्नुपर्छ । मैले यही कुरा सभापतिज्यूलाई सुझावमा राखेको छु ।'

उनले पार्टीबाट थुप्रै युवा अनुसार संसद्‌मा आएको स्मरण गराउँदै पटक-पटक मन्त्री भएर केही गर्न नसकेकाहरुलाई भन्दा नयाँ अनुहारलाई मौका दिन र समावेशितालाई ख्यालमा राख्न सुझाव दिएको बताए ।

नेता रसाइलीले हाल सांसद नरहेका पार्टीका नेताहरुले मोर्चाबन्दी नै गरेर सभापति देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालासहित नेताहरुलाई पार्टीबाट मन्त्री छान्नका लागि मापदण्ड समिति बनाउन र विज्ञता, कार्यक्षमता र समावेशितालाई ध्यानमा राखेर मन्त्री छान्न सुझाव राखिरहेको बताए ।

प्रकाशित : फाल्गुन १६, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?