१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राष्ट्रपतिमा पौडेललाई मत दिन ओलीलाई देउवाको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिन आग्रह गरेका छन् ।

राष्ट्रपतिमा पौडेललाई मत दिन ओलीलाई देउवाको आग्रह

कांग्रेस सभापति देउवाले सोमबार एमाले अध्यक्ष ओलीलाई पत्र लेखेर कांग्रेस उम्मेदवार पौडेललाई मत दिन आग्रह गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले राष्ट्रपति एउटा पद मात्र नभई गरिमायुक्त संस्था भएकाले बृहत्तर सहमति निर्माणका लागि भन्दै एमालेलाई पत्राचार गरेको छ ।

विमतिबीच पनि सहमतिको प्रयास र प्रतिस्पर्धामा हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै देउवाले पत्रमा भनेका छन्, 'विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ l यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु l'

'शालिन, बौद्धिक र सु‌संस्कृत' छविका पौडेलले संविधानप्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहभन्दा पर रहेर निभाउन सक्ने पनि देउवाले पत्रमा उल्लेख गरेका छन् । उनले पत्रमा भनेका छन्, 'संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व हो l यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु l '

राष्ट्रपति कांग्रेससहितका ८ दलले पौडेललाई र एमालेले सुवास नेम्वाङलाई उम्मेदवार बनाएका छन् । एमालेले पनि कांग्रेसबाहेकका दललाई पत्र लेखेर राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरेको छ । राष्ट्रपति चुनाव यही फागुन २५ गते हुँदैछ ।

प्रकाशित : फाल्गुन १६, २०७९ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?