१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुस १० को गठबन्धनको औपचारिक अन्त्य, एमाले अब प्रमुख प्रतिपक्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछि बनेको कांग्रेस नेतृत्वको गठबन्धनलाई मंसिरमा भएको आमनिर्वाचनपछि भत्काउन सफल भए पनि एमाले नेतृत्वको गठबन्धन दुई महिनाभन्दा लामो समय चल्न सकेन । राष्ट्रपति चुनावलाई लिएर माओवादीसँग खटपट भएपछि एमाले सोमबारबाट औपचारिक रूपमा बाहिरिएको छ ।

पुस १० को गठबन्धनको औपचारिक अन्त्य, एमाले अब प्रमुख प्रतिपक्ष

सरकारलाई दिएको समर्थन फिर्तासहित एमाले मन्त्रीहरुले राजीनामा दिएका छन् । एमाले अब संसद् प्रमुख प्रतिपक्षी कित्तामा पुगेको छ ।

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि एक स्थानमा आएका कांग्रेस, माओवादीलगायतका दलहरु २०७८ जेठको पहिलो साता पुन: प्रतिनिधिसभा विघटन भएपछि गठबन्धन बनाएका चुनावसम्म मोर्चाबन्दी गरेका गरेका थिए ।

५ दलीय गठबन्धनले एमालेविरुद्ध तीनै तहको चुनावमा मोर्चाबन्दी गरेर प्रतिस्पर्धा गरेको थियो । स्थानीय तह चुनावमा दोस्रो स्थानमा खुम्चिएको एमालेले प्रतिनिधिसभा चुनावमा भने समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको थियो ।

मंसिरमा भएको आमनिर्वाचनपछि पाँच दलभित्र प्रधानमन्त्री को हुने भन्ने विषयमा खटपट भएपछि एमाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदै पुन: सत्तामा फर्किएको थियो ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२)अनुसार दुई वा दुई भन्दा बढी दलका समर्थन प्राप्त गरेको व्यक्तिलाई प्रधानमन्त्री दाबी गर्ने समय सकिने केही समयअघि नै एमाले र माओवादी केन्द्रसहितका सात राजनीतिक दलका नयाँ गठबन्धन बनेको थियो ।

पुस १० मा बनेको गठबन्धन अनुसार प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष दाहाल बने भने प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सात प्रदेश मध्ये चार प्रदेशको नेतृत्व र प्रदेशसभाका २ सभामुख पनि एमालेका भागमा पर्‍यो ।

तर सत्तारुढ गठबन्धनभित्र दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिन सुदूरपश्चिम प्रदेशमा सरकार ढल्यो । बाँकी रहेको ३ वटा प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेका मुख्यमन्त्रीहरुको पद पनि धरापमा परेको छ । प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री रहेका छन् ।

अब एमाले नेतृत्वका तीनवटा सरकार पनि ढल्ने अवस्था पुगेका छन् । त्यस्तै अन्य प्रदेशमा पनि अब एमाले सरकारबाट बाहिरिने अवस्था पुगेको छ ।

राष्ट्रपति निर्वाचनसहितको विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले बालुवाटार र बालकोटमा पटक-पटक वार्ता भएपनि उनीहरू सहमत हुन सकेनन् । त्यसैले नयाँ गठबन्धन बन्यो ।

एमालेका नेताहरुको प्रधानमन्त्री दाहालले विदेशी शक्तिको दबाब थेग्न नसकेका गठबन्धन परिवर्तन गरेको बुझाइ छ । एमाले अध्यक्ष ओलीले यो विषय शनिबारको सचिवलाय बैठकमा समेत व्यक्त गरेका थिए ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा माओवादीसहित ८ राजनीतिक दलले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने निर्णय गरेका थिए । शुक्रबार निर्णय भए पनि एमाले सरकारको विषयमा पर्ख र हेरको रणनीतिमा रहेको थियो । तर आइतबार संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को बैठकमा सहभागी हुन जेनेभा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्यलको भ्रमण अन्तिम समयमा आएर प्रधानमन्त्री दाहालले रोकिदिएका थिए । जसले फागुन २५ गतेको डेटलाइनअघि नै सत्ता छाड्नु पर्ने बाध्यात्मक अवस्थामा सिर्जना गर्‍यो ।

प्रकाशित : फाल्गुन १५, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?