काठमाडौँ — नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले राष्ट्रपति कांग्रेसलाई दिने सहमति भए पनि उम्मेदवारबारे छलफल नभएको बताएका छन् । राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकपछि उनले संसद्मा प्रतिनिधित्व गर्ने आठ दलको बैठकमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसद्को ठूलो दल कांग्रेसको उम्मेदवारलाई समर्थन गरौँ भन्ने प्रस्ताव गरेको र त्यही प्रस्तावमा सबै दलले सहमति जनाएपछि बैठक सकिएको बताए ।
‘प्रधानमन्त्रीजीले संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको उम्मेदवारलाई जिताऔँ भन्ने प्रस्ताव गर्नुभयो । त्यो प्रस्तावमा सबै दलले समर्थन गर्ने, सहयोग गर्ने भन्ने सहमति भयो । उम्मेदवार कसलाई बनाउने भन्नेबारे नेपाली कांग्रेसले निर्णय गर्ला,’ उनले भने ।
उनकाअनुसार बैठकमा सत्ता र शक्ति बाँडफाँटका विषयमा छलफल नै भएको छैन । ‘हामीले अहिले राष्ट्रपतिको निर्वाचनका विषयमामात्रै छलफल गर्यौँ, भोलि कसरी जाने भन्नेबारे फेरि छलफल होला, आजको एजेण्डा नै त्यतिमात्रै थियो,’ उनले भने ।
बैठकमा प्रधानमन्त्री दाहालले भने राष्ट्रपतिको निर्वाचनपछि नयाँ राजनीतिक यात्रा तय हुने बताएका थिए । ‘हामीले राष्ट्रपतिको निर्वाचन कांग्रेसलाई समर्थन गर्ने निर्णय गर्यौं । यसले हाम्रो नयाँ राजनीतिक यात्रा सुरू भएको छ । सबै दलहरू मिलेर जाऔँ, राजनीतिक स्थिरता र जनताको चाहनाबमोजिम विकास र समृद्धिको यात्रामा सामेल बनौं,’ बैठकमा प्रधानमन्त्री दाहालले भनेको उदृत गर्दै ज्वालाले भने ।
आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णय गरेका छन् । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार भने तय गरिसकेको छैन । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला राष्ट्रपतिका आकांक्षी छन् ।
