राष्ट्रपति एमालेबाटै हुन्छ, अरु थाहा छैन : केपी ओली

फाल्गुन १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै तय भइसकेको उल्लेख गरेका थिए ।

यद्यपि पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताएका थिए । ‘राष्ट्रपति एमालेको हुन्छ भन्ने कुरा त हामीले पुस १० गते नै भनेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन,’ अध्यक्ष ओलीले भने ।

प्रतिनिधिसभाको बैठकअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो । यसैबीच राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट तीव्र बनिरहेको छ ।

यस क्रममा एमालेसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरूले पनि राष्ट्रपतिका लागि लबी गरिरहेका छन् । शुक्रबार नै संसद्‍ बैठकपछि अध्यक्ष ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता तय भएको छ ।

कान्तिपुर

Link copied successfully