२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

फागुन ७ को क्रान्ति नै संघीयता र गणतन्त्रसम्मको यात्राको जननी हो : सभापति देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  २००७ साल फागुन ७ को क्रान्ति नै संघीयता र गणतन्त्रसम्मको यात्राको जननी भएको बताएका छन् । उनले फागुन ७ मा कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनको रुपमा स्मरण गर्दै त्यो ऐतिहासिक दिनमा सहिदहरूको त्याग र बलिदानको स्मरण र शुभकामना व्यक्त गरेका छन् । 

फागुन ७ को क्रान्ति नै संघीयता र गणतन्त्रसम्मको यात्राको जननी हो : सभापति देउवा

'२००७ को कार्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन-क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो । राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्‍यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्‍यो,' देउवाले भनेका छन्, 'समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै हो ।'

उनले प्रजातन्त्र दिवसले संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व र मुलुकको समृद्धिसँगै समतामुलक समाज निर्माणको दिशामा लाग्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?