फागुन र चैतमा एमालेको ‘मिसन ग्रासरुट’- समाचार - कान्तिपुर समाचार

फागुन र चैतमा एमालेको ‘मिसन ग्रासरुट’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा  थप गर्ने नेताहरूको भनाइ छ ।

बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टीको संगठनमा ऊर्जा थप गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँमा केन्द्रीत भएर संगठन गर्न निर्देशनसहित ११ वटा कार्यादेश तोकेर जिम्मेवारी दिइएको छ ।

अभियानको फागुन ५ गते सात वटै प्रदेशमा अभियानमा खटिने नेताहरूलाई अभिमुखीकरण गरेर थालनी गरिनेछ । उनले पार्टीको संगठन सुदृढीकरणको दुई महिने अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिइएको समेत बताए ।

प्रकाशित : माघ २६, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्

अमर नेम्वाङ (लिम्बू) स्मृति स्रष्टा सम्मान पुरस्कार मुकारुङ र ओझालाई

लक्ष्मी गौतम

पाँचथर — यो वर्षको स्वर्गीय अमर नेम्वाङ (लिम्बू) स्मृति स्रष्टा सम्मान पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई प्रदान गरिएको छ । स्वर्गीय अमर नेम्वाङ स्मृति प्रतिष्ठानले बिहीबार फिदिममा कार्यक्रम आयोजना गर्दै स्रष्टाद्वय मुकारुङ र ओझालाई सम्मानसहित पुरस्कृत गरेको हो ।

तत्कालीन फाल्गुनन्द गाउँपालिका अध्यक्ष्समेत रहेका साहित्यकार अमरकुमार नेम्वाङको २०७५ साल माघ २६ गते गाउँपालिकाले आयोजना गरेको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दा गर्दै निधन भएको थियो ।

प्रतिष्ठानले उनको स्मृति दिवसको अवसरमा २०७६ सालदेखि प्रत्येक वर्ष माघ २६ गते जनही ५० हजार रुपैयाँ राशीको पुरस्कारसहित दुई जना स्रष्टालाई सम्मान गर्न थालेको हो ।

उक्त पुरस्कारबाट सारदा सुब्बा, बिना थिङ, देवी क्षेत्री दुलाल, मुनाराज सेर्मा, वीर नेम्वाङ र डाक्टर गोविन्दराज भट्टराई सम्मानित भइसकेका छन् ।

स्रष्टाद्वय मुकारुङ र ओझालाई प्रमुख अतिथिको आसनबाट कांग्रेस सहमहामन्त्री एवं संविधानसभा सदस्य भिष्मराज आङदेम्बे, देवी क्षेत्री दुलाल, साहित्यकार कृष्ण प्रधान र पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले सम्मानसहित पुरस्कार वितरण गरे ।

प्रतिष्ठानले पाँचथरको फिदिम नगरपालिका ७ मा आगलागीमा परी ज्यान गुमाएका आसाङ थेबे गुरुङ र ममता तथा फिदिम- १३ की सुकमती नेम्वाङको परिवारका सदस्यलाई राहत वितरण गरेको छ ।

कार्यक्रममा फालेलुङ-७ मा पहिरोमा परेर अभिभावक गुमाएकी करुणा मगर र फिदिम- ४ का राजेश खपाङ्गी मगरलाई पनि १० हजार रुपैयाँ राहत उपलव्ध गराएको छ ।

यस्तै प्रतिष्ठानले उपलब्ध गरााउदै आएको गरिब तथा जेहेन्दा छात्रवृत्ती जयनारायण आदर्स मावि आङसराङ कक्षा १० की भूमिका स्याङतेनले प्राप्त गरेकी छिन । छात्रवृत्तीको राशी १० हजार रुपैंया रहेको छ ।

प्रकाशित : माघ २६, २०७९ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×