रास्वपालाई गृह मन्त्रालय दिएर भए पनि सरकारमै राख्नुपर्थ्यो : ज्ञवाली


काठमाडौँ — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको दुःख व्यक्त गरेका छन् । उनले सत्ता गठबन्धनमा भएको सहमतिबमोजिम रास्वपालाई गृह मन्त्रालय दिएर सरकारमै राख्नुपर्ने परिस्थिति आवश्यक रहेकोमा जोड दिए ।

बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकपछि उपमहासचिव ज्ञवालीले अझै पनि रास्वपालाई सरकारमा सामेल गर्न प्रयास भइरहेको बताए ।
‘रास्वपा सरकारबाट बाहिरिनु दुःखद् हो । यसको एउटा देखिने कारण छ, त्यो भनेको नागरिकतामा देखिएको समस्या हो,’ उनले भने, ‘तर सत्ता गठबन्धनमा जसरी शक्तिको बाँडफाँट भएको थियो, त्यसको कार्यान्वयन नहुँदा उहाँहरूले सरकारबाट बाहिरिनुभएको छ । उहाँहरूलाई गृह मन्त्रालय दिएर भए पनि सरकारमा राख्नुपर्थ्यो भन्ने हाम्रो धारणा हो, व्यक्ति को हुन्थ्यो ? त्यो उहाँहरूको कुरा थियो ।’
उनले अझै पनि उपयुक्त वातावरण बनाएर रास्वपालाई सरकारमा सहभागी गराउन प्रयास कायम रहेको बताए । ‘यो सरकार भिन्न-भिन्न दलहरू मिलेर बनेको हो । यस्तोमा कतिपय विषयहरूमा मतान्तर हुनु स्वाभाविक छ,’ उनले भने, ‘हामी सरकार बाहिर रहेका अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छौं ।’
प्रकाशित : माघ २६, २०७९ १७:४४