संसद्को बैठक भर्चुअल बस्न सक्ने - समाचार - कान्तिपुर समाचार

संसद्को बैठक भर्चुअल बस्न सक्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् प्रतिनिधिसभाको बैठक सांसदहरुको उपस्थिति संसद् भवनमा नभए पनि हुने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सांसदहरूको भर्चुअल माध्यमबाट उपस्थिति भए पनि बैठक बस्ने व्यवस्था गरेको हो ।

मस्यौदा समितिको बिहीबारको बैठकले भर्चुअल माध्यमबाट सांसदहरू उपस्थित भएमा बैठक बस्नसक्ने व्यवस्था गरेको हो । 'प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने कुरामा सभाका कम्तीमा एक चौथाई सदस्य सहमत भई सो कुरा सभामुखलाई जानकारी गराएमा आवश्यकताअनुरुप कार्यव्यवस्था समितिको परामर्शमा सभामुखको निर्णयअनुसार प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट पनि बैठक बस्न सकिनेछ ।'

त्यस्तो बैठकको कार्यविधि सभामुखले निर्धारण गरेबमोजिम हुने व्यवस्था गरिएको छ । मस्यौदा समितिले नियमावलीको टुंगो लागेपछि संसद्‌मा प्रस्तुत गर्नेछ ।

२०७४ मा निर्वाचित संसद्पछि कोरोनाका कारण भर्चुअल माध्यमबाट संसद् बैठक बस्न सक्ने अवस्था थिएन । नियमावलीको व्यवस्था नभएकाले त्यस्तो बैठक हुन सकेको थिएन । कोरोना महामारीलाई नै मध्यनजर गर्दै नियमावली मस्यौदा समितिले उक्त व्यवस्था गरेको हो ।

प्रकाशित : माघ २६, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिलगायत विषयमा छलफल भइरहेको जनाइएको छ । बिहीबार ३ बजेका लागि तय भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर दाहाल र ओली छलफलमा जुटेका हुन् ।

राष्ट्रपतिको उम्मेदवार उच्चस्तरीय राजनीतिक संयन्त्रबाट नै तय गर्ने विषयमा बुधबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो । दाहाल ओलीसँग छलफल गर्न बुधबार बिहान बालकोट पुगेका थिए ।

प्रकाशित : माघ २६, २०७९ १६:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×