सांसदहरूको लेटरप्याडमा एकरुपता ल्याइने


काठमाडौँ — प्रतिनिधिसभाका सदस्यहरूको लेटरप्याडमा एकरुपता ल्याइने भएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बैठकमा सांसदको लेटरप्याडमा एकरुपता ल्याउने गरी व्यवस्था गर्न लागिएको हो । बिहीबार बसेको मस्यौदा समितिको बैठकमा समितिका सदस्यहरूले सांसदको लेटरप्याडमा एकरुपता हुने गरी व्यवस्था गर्न सहमति गरेका छन् ।

यसअघि सांसदहरूले आफूखुसी लेटरप्याड बनाउने, दलको नेताको फोटो राख्ने र झन्डाको समेत फोटो राख्ने गरिएको थियो । अब नयाँ बन्ने प्रतिनिधिसभा नियमावलीले त्यसबारे संशोधन गर्दै सबै सांसदहरूको लेटरप्याडमा एकरुपता कायम गर्ने व्यवस्था गर्न लागिएको हो ।
प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न, समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न तथा प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन प्रतिनिधिसभा नियमावली मस्यौदा तयार गर्न प्रतिनिधिसभाको १० माघको बैठकले २१ सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नांगिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन् ।
प्रकाशित : माघ २६, २०७९ १६:३२