परराष्ट्रमन्त्री पौड्याल र साउदी राजूतबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार

परराष्ट्रमन्त्री पौड्याल र साउदी राजूतबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबिया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिइन् ।

यस अवसरमा मन्त्री पौड्यालले साउदी अरेबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन् ।

मन्त्रीको सचिवालको अनुसार भेटमा राजदूत हैमेदले साउदी अरबीयाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गरे । उनले आफ्नो देशमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरु लैजाने प्रतिबद्धता जनाए ।

प्रकाशित : माघ २६, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ

रासस

पर्सा — नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ । 

जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह पनि गरिसकेको छ । ओरिया खोलामा भारतीय पक्षले ठेक्का लगाएर दिनहुँजसो बालुवा उत्खनन गर्दै आएको छ ।

खोलामा बालुवा उत्खननका क्रममा पुरिएको अवस्थामा सीमास्तम्भ भेटिएपछि ओरिया खोलाको विवाद फेरि बाहिर आएको हो । खोलामा सीमास्तम्भ भेटिएपछि भूमि भारतकै हो कि नेपालतर्फको भन्ने बारे यकीन नभएकाले सुरक्षा निकायको माथिल्लो तहमा कुरा राख्नुपर्ने भएका कारण उत्खननमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जनाए ।

चार दिनअघि मात्रै ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमास्तम्भ भेटिएको थियो भने हाल ४२२/१ नम्बरको सहायक सीमास्तम्भ खोलामै भेटिएको थपालियाले बताए । जगरनाथपुर गाउँपालिका–१ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमास्तम्भ भेटिन थालेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखले स्थलगत अवलोकन गरेका थिए । त्यसलगत्तै पहिलेदेखि नै विवादित बन्दै आएको ओरिया खोलामै हराएका सीमास्तम्भ भेटिएपछि त्यसबारे आवश्यक छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले दशगजा क्षेत्रमा रहेको ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि अब सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै वर्षौंदेखि भारतीयतर्फको ठेकेदार पक्षले ओरिया खोलामा दैनिकरुपमा उत्खनन गर्दै आएको बताए ।

नेपालतर्फका सुरक्षा अधिकारीको टोली ओरिया खोला पुगेर भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई उत्खनन रोक्न आग्रह गरेको र उनीहरुले माथिल्लो निकायमा कुरा राख्ने प्रतिक्रिया दिएको सुरक्षा समितिले जनाएको छ । ओरिया खोला र आसपासका क्षेत्रमा मुख्य र सहायक गरी १६ वटा सीमास्तम्भ हराएका थिए ।

प्रकाशित : माघ २६, २०७९ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×