उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौँ — पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यसम्पादनमाथि छलफल गर्न बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्तापछि सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक तय भएको हो । यसअघि प्रधानमन्त्री दाहालले दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने दिन माघ २ मा बैठक बसेको थियो । 

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

बालकोटमा बुधबार एमाले अध्यक्ष ओलीसँग भेटेर बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले संयन्त्रको बैठक बस्ने र राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताए । ‘संयन्त्रको बैठक बस्छ र राष्ट्रपतिको विषयमा पनि छलफल हुन्छ,’ उनले भने ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बस्न लागेको संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत र राष्ट्रपति निर्वाचनलगायतका एजेन्डामा छलफल हुने नेताहरूले बताएका छन् । सत्ता साझेदार दलहरूबीच कैयौं मुद्दामा असहमति कायमै रहेका बेला बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ । सरकारलाई समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि बैठकमा सहभागी हुनेछ ।

उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार गठन भएयताका कामबारे समीक्षा हुने बताए । ‘एजेन्डाबारे जानकारी आइसकेको छैन, म आफैंले पनि संयन्त्रको बैठक माग गरेको थिएँ किनभने सरकारका काम–कारबाहीको समीक्षा भएको छैन,’ उनले भने, ‘रास्वपा सरकारबाट बाहिरिएको छ । अब कसरी अगाडि बढ्ने छलफल गर्नुपर्ने छ ।’

सुदूरपश्चिम सरकारले बिहीबारभित्र विश्वासको मत नपाए स्वतः सरकार ढल्ने राजनीतिक परिस्थिति आएको छ ।

प्रकाशित : माघ २६, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?