कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

रानाथारू समुदायबाट डाक्टर

कैलाली धनगढी–८ की यज्ञवती राना र कञ्चनपुर लालझाडी–३ का सुरजप्रकाश राना समुदायमै काम गर्न चाहन्छन्
भवानी भट्ट

कञ्चनपुर — विगत सम्झँदा मनमा चसक्क हुन्छ । स्वास्थ्य सेवाको अवस्था सम्झेर अब त्यस्तो नहोस् भन्नेमा चनाखो हुन्छिन्, कैलाली धनगढी–८ की यज्ञवती राना । ठूलोबुबा रामबहादुर टाउको दुख्यो भनेर घरनजिकैको मेडिकलमा पुगेका थिए, स्वास्थ्यकर्मीले सुई लगाए । बेहोस भएका उनी होसमा फर्केनन् । 

रानाथारू समुदायबाट डाक्टर

घटना २०६० को हो । श्रीमान्‌को मृत्युपछि यज्ञवतीकी ठूलीआमा पनि डिप्रेसनमा गइन् । एक वर्षमै उनको मृत्यु भयो । कैलाली र कञ्चनपुरका रानाथारू कृषिमा आश्रित समुदाय हो । रामबहादुरले समस्या राम्ररी भन्न नसकेका कारण स्वास्थ्यकर्मीले अर्कै उपचार गरेकाले उनको मृत्यु भएको यज्ञवतीको बुझाइ छ । त्यही घटनादेखि उनलाई डाक्टर बन्ने हुटहुटी जाग्यो ।

उनले निकै मिहिनेत गरिन् । २०६८ मा प्रमाणपत्र तह पास गरेपछि एमबीबीएस अध्ययनका लागि बंगलादेश पुगिन् । ढाका विश्वविद्यालयअन्तर्गतको कुमुदिनी वुमेन्स मेडिकल कलेजबाट सन् २०१९ मा चिकित्सक बन्ने पढाइ पूरा गरिन् । उनी रानाथारू समुदायबाट डाक्टर हुने पहिलो हुन् । धनगढीमा स्कुल पढेकी उनले काठमाडौं गएर एसएलसी र प्रमाणपत्र तह सकेपछि एमबीबीएस पढ्न ढाका रोजेकी हुन् । सुरु–सुरुमा पढाइका लागि धेरै खर्च गरेर परिवारलाई ऋणमा डुबाएको भन्दै आफन्त र छिमेकीले उनका कुरा काटे । अहिले उनी समुदायकै लागि उदाहरण बनेकी छन् ।

‘मलाई पनि आफन्तले सुनाउने गर्थे, घरपरिवारलाई ऋणको भारी बोकायो भन्थे,’ राना भन्छिन्, ‘अहिले सबैले राम्रो कुरा गर्छन्, परिवारसँगै समुदायबाटै सम्मान पाएकी छु ।’ अहिले उनी गाउँमै फार्मेसी सञ्चालन गरेर बसेकी छन् । यसबाहेक विशेषज्ञताका लागि एमडी पढ्ने तयारी पनि गरिरहेकी छन् । विशेषज्ञता अध्ययनपछि गाउँमै सेवा दिने उनको लक्ष्य छ ।

‘रानाथारू समुदायमा अहिले पनि थुप्रैले रोग लुकाएर बसेका छन् । उनीहरू बोली भाषाकै समस्याले स्वास्थ्यकर्मीसम्म पुग्न सक्दैनन् । पुगे पनि आफ्नो समस्या राम्ररी भन्न सक्दैनन्,’ उनले भनिन्, ‘आफ्नै समुदायको डाक्टर भएर खुलेर कुरा गर्न सके उपचार पनि पाइन्छ । त्यही भएर गाउँमै आफ्नै समुदायमा सेवा गर्ने लक्ष्य छ ।’ उनकी आमा पहिलो संविधानसभामा नेपाल सद्भावना पार्टीबाट समानुपातिकतर्फकी सभासद थिइन् ।पार्टी विभाजनपछि जनता समाजवादी पार्टीमा लागेकी उनी सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेशसभामा सदस्य पनि बनिन् ।

रानाथारू समुदायबाटै डाक्टर हुने दोस्रो हुन्, कञ्चनपुरको लालझाडी–३ पर्सियाका सुरजप्रकाश राना । जिल्लाकै दुर्गम लालझाडी गाउँपालिका रानाथारू समुदायको बाहुल्य भएको स्थानीय तह हो । चारैतिर खोलानालाले घेरिएको उक्त पालिका बर्खामा बाढी र डुबानको समस्या झल्दै आएको छ । बाढीका बेला उक्त पालिकामा आउजाउसमेत समस्या हुने गरेको छ । उक्त पालिकाबाट एमबीबीएस गर्ने राना पहिलो हुन् । उनले हालै बंगलादेशको ढाका विश्वविद्यालयअन्तर्गतको ढाका सेन्ट्रल इन्टरनेसनल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका हुन् ।

कञ्चनपुरको बेलौरीबाट एसएलसी सकेर उनी काठमाडौं पुगे । प्रमाणपत्र तह पास गरेपछि एमबीबीएस पढ्न सन् २०१५ मा ढाका पुगे । उनको पढाइ २०२२ को अन्त्यतिर पूरा भएको हो । राना अहिले गाउँमै छन् । उनी नेपाल मेडिकल काउन्सिल (एनएमसी) को परीक्षासँगै लोक सेवाको पनि तयारी गरिरहेका छन् । दुई वर्ष डाक्टर भई सेवा गरेपछि विशेषज्ञता अध्ययनका लागि तयारी गर्ने उनको योजना छ ।

उनका बाबु साइबा राना पनि स्वास्थ्यकर्मी हुन् । उनी परिवार नियोजन संघ कञ्चनपुरमा अधिकृत छन् । बेलौरी–४ बेलौरी बजारमा उनको मेडिकल पनि छ । रानाकी दिदी पुष्पा ल्याब असिस्टेन्ट हुन् । उनले आफ्नै मेडिकलमा ल्याब पनि सञ्चालन गरेकी छन् । उनका दाजु चन्द्रप्रकाश आयुर्वेद चिकित्साको अन्तिम परीक्षा दिएर घरमा बसेका छन् । ‘हाम्रो पूरै परिवार स्वास्थ्यकर्मी नै छन्,’ साइबाले भने, ‘कान्छो छोराले एमबीबीएस पूरा गर्‍यो, जेठोले पनि आयुर्वेद डाक्टरको अन्तिम परीक्षा दिएको छ ।’ अहिले उनलाई गाउँले, आफन्त र नातागोताबाट बधाईको ओइरो छ । परिवारमा खुसियाली छ । तर, ऋण तिर्न भने धौधौ भएको छ । छोरा डाक्टर त भयो तर झन्डै ७० लाख खर्च हुँदा आधाभन्दा बढी ऋण छ ।

पश्चिम तराईको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने अल्पसंख्यक रानाथारू समुदायलाई २०७६ मा आदिवासी जनजातिमा सूचीकृत गरिएको छ । रानाथारूको जनसंख्या ३ लाख हाराहारी रहेको नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए । ‘हाम्रो समुदायकै लागि गौरवको कुरा हो, दुई जना डाक्टर भएका छन्,’ उनले भने, ‘अब अन्य पनि उनीहरूको सिको गरेर डाक्टरदेखि अन्य प्राविधिकतर्फ आकर्षित हुनेछन् ।’

प्रकाशित : माघ २६, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?