सिक्किमका नेपालीभाषीमाथि भारतीय अदालतले गरेको विवादास्पद टिप्पणी सच्यायो- समाचार - कान्तिपुर समाचार

सिक्किमका नेपालीभाषीमाथि भारतीय अदालतले गरेको विवादास्पद टिप्पणी सच्यायो

पर्वत पाेर्तेल

झापा — चौतर्फी आन्दोलन र दबाबपछि भारतको सर्वोच्च अदालतले हालै गरेको एक फैसलामा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

सिक्किमका पुराना बासिन्दाहरुको संगठन एसोसिएसन अफ ओल्ड सेटेलस सिक्किम (एओएसएस) ले नेपाली, भुटिया र लेप्चा समुदायहरुलाई झै आयकर छुटको मागसहित सन् २०१३ मा सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्चले गत जनवरी १३ मा उनीहरुको पक्षमा फैसला गरेको थियो । फैसलाका क्रममा सर्वोच्चले सिक्किमका वहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय तरङ्गित बनेको थियो । सिक्किम लगायत क्षेत्रमा भने विशाल प्रदर्शन भएको थियो ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सार्वोच्चसँग माग गरेको थियो । बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शव्द हटाउने निर्णय भएको हो ।

‘सिक्किमे जनताको भावना बुझेर तुरुन्तै मुद्दाको समाधान खोज्ने सर्वोच्च अदालतलाई धेरै धन्यवाद छ’, सर्वोच्चको निर्णयपछि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ट्विटमा भने, ‘भारतीय न्यायपालिकाप्रति हाम्रो अथाह विश्वास थियो, रहिरहनेछ ।’

प्रकाशित : माघ २५, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्

प्रेसलाई बदनाम गर्दा लोकतन्त्र नै खतरामा पर्छ : थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने बताए । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उनले लोकतन्त्रमा प्रेस फ्रिडम र अभिव्यक्ति स्वतन्त्रताको आफ्नै महत्त्व हुने बताए । ‘प्रेस यो व्यवस्थाको अभिन्न अंग हो । यसमा राम्रा अभ्यास पनि छन्, समस्या पनि छन् । २०६२/०६३ को आन्दोलनमा हामीले प्रेसलाई आठौँ दलको रुपमा पनि भन्थ्यौँ,’ उनले भने, ‘तर लोकतन्त्रलाई यहाँसम्म ल्याउने कुरामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका छ । म पनि भन्छु, नेपालको प्रेसले पनि आफ्नोभित्र प्रश्न गरोस्, सुधारहरू पनि गरोस् । तर, प्रेसलाई हामीले ब्ल्याङ्केट डिसक्रेडिट गर्‍यौँ भने त्यसले लोकतन्त्रमाथि नै खतरा पैदा हुन्छ ।’

उनले प्रेस र राजनीतिक दल, नेताका बीचमा एकले अर्काको सुधारको अपेक्षा गर्नु उपयुक्त हुने बताए ।

‘हामीले एकअर्कासँग सुधारको अपेक्षा गर्नु ठीक छ । तर‚ एकले अर्कालाई देखाइदिन्छु भनेर केही हुनेवाला छैन । कसैले केही लेख्यो भनेर पख्लास् भन्नुको अर्थ छैन । प्रेसको स्वतन्त्रता हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘प्रेसको फ्रिडमलाई हामीले ख्याल गर्नुपर्ने हुन्छ । प्रेसको फेयर हामीलाई पनि हुनुहुँदैन, र हामीले पनि देखाउनुहुँदैन । विधिको शासनमा प्रेसको आफ्नै स्थान हुन्छ ।’

उनले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको समेत आफ्नै स्थान हुने बताए ।

प्रकाशित : माघ २५, २०७९ २०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×