उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

काठमाडौँ — राष्ट्रपतिको उम्मेदवार र सरकारका कामकारबाहीबारे छलफल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बिहान बालकोटमा भएको भेटघाटमा संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।

उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

बालकोटको भेटपछि प्रधानमन्त्री दाहालले संयन्त्रको बैठक बसेर सबै विषयमा छलफल गर्ने जानकारी दिए ।

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अहिले सत्तारुढ दुई दल माओवादी केन्द्र र एमालेबीच फरक मत प्रकट भइरहेको छ । एमाले पूर्वसहमतिअनुसार राष्ट्रपतिको उम्मेदवार आफूले खडा गर्ने दाबी गरिरहेको छ । प्रधानमन्त्री दाहाल भने कांग्रेसले पनि विश्वासको मत दिएकाले उसका लागि समेत अनुकूल हुने व्यक्ति हुनुपर्ने पक्षमा छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थाबारे पनि बुधबार दुई शीर्ष नेताबीच कुराकानी भएको थियो । मंगलबार मात्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले दाहालसँग छलफल गरेका थिए ।

रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले गृह, शिक्षा र श्रम मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । यसअघि पनि उनले वन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैँले हेर्दै आएका थिए ।

रास्वपाको बहिर्गमनपछि दाहालले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा ल्याउन गृहकार्य थालेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा दुवैबीच भेट भएको हो ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै कांग्रेससँगको सहकार्यमा माओवादीले संकेत जनाएपछि एमाले संशकित भएको छ । एमालेले पूर्वसहमतिअनुसार नै आफूले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित : माघ २५, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?