बर्दियाका गोही बाँकेमा

जे पाण्डे

नेपालगन्ज — बाँके र बर्दिया राष्ट्रिय निकुञ्जले जलचरमध्ये संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेका छन् । बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै चलचरको संख्या वृद्धि गर्न प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन संरक्षण अभियानको सुरुवात गरेको हो । 

बर्दियाका गोही बाँकेमा

चलचर विज्ञहरूले तीन महिना लगाएर बाँकेको राप्ती नदीको स्थलगत अध्ययन गर्दा यहाँको पानीसँगै बगर क्षेत्र वातावरणीय दृष्टिले समेत घडियाल गोहीको उचित बासस्थान हुने सुझाव दिएका थिए । त्यसैका आधारमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले गोही संरक्षणको प्रयास थालेका हुन् ।

पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जले दुईवटा भाले र आठवटा पोथी घडियाल बाँके निकुञ्जलाई हस्तान्तरण गरेको छ । बर्दियाबाट स्थानान्तरण गरिएका गोही बाँकेको बासखोलीस्थित राप्ती नदीमा छाडिएको छ । घडियाल गोही सुरुमा चितवनबाट बर्दिर्या ल्याइएको थियो । राप्ती नदीमा गोहीको संख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको निकुञ्जका अधिकारीले बताएका छन् ।

राप्ती नदीको पानीमा प्रदूषण न्यून छ । स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको मुख्य आहारा माछा हो । राप्ती नदीमा यी दुवै उपलब्ध रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोककुमार भण्डारीले बताए । ‘गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाई भने नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।

निकुञ्जका अधिकारीले नदीमा माछा मारेर जीविका चलाउँदै आएकाहरू खुनार र कुमाल जातिको व्यवसाय संकटमा पर्ने देखिएकाले उनीहरूको आयआर्जनको विकल्प खोज्ने बताएका छन् । ‘विकल्पस्वरूप खोला वा नदीबाहिर माछा पालन गर्न सिकाउने पक्षमा छौं,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार शाहले भने, ‘संकटापन्न सूचीमा रहेका प्रजातिको संरक्षण गर्ने संकल्प गरेका छौं ।’

नदीमा आश्रित हुने समुदायका लागि निकुञ्जले बल्छी प्रयोग गरेर माछा मार्न पाउने लाइसेन्स दिएको छ । बल्छीबाहेक जाल प्रयोग गरेर माछा मार्न प्रतिबन्ध लगाइएको छ । जाल प्रयोग गर्दा घडियाल गोहीको चुच्चो अर्थात् मुख जालमा अल्झेर भाँच्चिन सक्ने र संरक्षणमा बाधा पुग्ने भएकाले रोक लगाइएको हो ।

बर्दियाको कर्णाली र बबई नदीसहित नेपालमा करिब २ सय ५० वटा घडियाल गोही संरक्षण गरिएको निकुञ्जले जनाएको छ । विश्व सीमसार दिवसका अवसर पारेर राप्तीमा गोही संरक्षण गर्न थालिएको हो ।

प्रकाशित : माघ २५, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?