१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मुसर्रफले काठमाडौंमा दिएको त्यो ‘सरप्राइज’

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन
मणि दाहाल

काठमाडौँ — नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ११ औं सम्मेलनलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ फर्किने क्रममा तत्कालीन पाकिस्तानी राष्ट्रपति जनरल परवेज मुसर्रफले भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग हात बढाए । आश्चर्यजनक रूपमा मुसर्रफको हात आफूतिर आएको देखेर केही समय असामञ्जसमा परेका बाजपेयीले हात लम्काए । त्यो दृश्य अन्तर्राष्ट्रिय समाचार बन्यो ।

मुसर्रफले काठमाडौंमा दिएको त्यो ‘सरप्राइज’

तत्कालीन परराष्ट्र सचिव मधुरमण आचार्य त्यो ‘ह्यान्डसेक’ ले भारत–पाकिस्तानबीच वार्ताको ढोका खोलेको बताउँछन् । ‘अवस्था कस्तो भयो भने प्रधानमन्त्री शेरबहादुर देउवा पत्रकार सम्मेलन गर्न बाहिरिएपछि हलमा मुसर्रफ र बाजपेयी मात्रै बाँकी हुनुहुन्थ्यो,’ उनले भने, ‘द्विपक्षीय वार्ता नगर्ने भनेका दुवै नेताले पछि पत्रकार सम्मेलनमा वार्ता भएको जानकारी गराएका थिए ।’ आचार्यका अनुसार यही वार्ताले भारत र पाकिस्तानबीच सन् १९९९ मा भएको कारगिल युद्धपछि बढेको तनाव घटाउने काम गर्‍यो । त्यसको ६ महिनापछि भारतमा बाजपेयी र मुसर्रफबीच वार्ता नै भयो । तर कश्मीरको विषयमा सहमति जुट्न नसक्दा ठोस परिणाम भने आउन सकेन ।

कारगिलबाट बाहिरसमेत फैलिने सम्भावना रहेको पछिल्लो युद्धले दक्षिण एसियालाई आणविक युद्धको जोखिममा पुर्‍याएको थियो । १९९८ मेमा केही दिनको अन्तरमा भारत र पाकिस्तान दुवैले आणविक हतियारको परीक्षण गरेका थिए । बेलायतको औपनिवेशिक विरासतका रूपमा कश्मीरको सार्वभौमिकताको विषयमा दुवै देशबीच विवाद छ । यो क्षेत्रलाई आणविक युद्धको उच्च जोखिम भएको क्षेत्रका रूपमा समेत लिइन्छ ।

सेना प्रमुख मुसर्रफलाई कारगिल युद्धको प्रमुख योजनाकारका रूपमा हेरिने गरेको छ । अन्तर्राष्ट्रिय दबाबपछि पाकिस्तानले बीचमै युद्ध छाड्नुपरेको थियो । गैरसैनिक सरकारलाई सेनाले गुमराहमा राखेको भन्ने विषय पनि उठेको थियो । मुसर्रफ नेपाल आउँदा भारतीय आकाश प्रयोग गर्ने अनुमति नपाएपछि चिनियाँ जहाज चढेर चीन पुगेका थिए, त्यहीँबाट नेपाल आएका हुन् । जसका कारण सम्मेलन एक दिन ढिलो सुरु भएको थियो । भारतीय पक्षले नेपाल जान हवाईमार्ग उपलब्ध गराउन पाकिस्तानले आग्रह गरेको बताए पनि पाकिस्तानले त्यसको खण्डन गरेको थियो ।

२००४ मा पाकिस्तानमा भएको सार्क शिखर सम्मेलनका क्रममा भएको भेटवार्तालाई तत्कालीन परराष्ट्र सचिव मदनकुमार भट्टराई स्मरण गर्छन् । ‘रावलपिण्डीस्थित मुसर्रफ निवासमा भेटवार्ता भएको थियो,’ तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको टोलीका सदस्य रहेका भट्टराई भन्छन्, ‘निकै इम्प्रेसिभ मानिस थिए ।’

यिनै ७९ वर्षीय मुसर्रफको संयुक्त अरब इमिरेट (यूएई) को दुबईमा आइतबार निधन भएको छ । २०२२ जुनमै मुसर्रफको मृत्यु भएको अफवाह फैलिएको थियो । दुर्लभ प्रकृतिको रोग लागेका मुसर्रफको प्रमुख सबै अंगले काम नगरेपछि लामो समयदेखि उपचार गराउँदै आएका थिए । सन् १९९९ मा सत्ता हत्याएपछि पटकपटक उनको हत्या प्रयास भएको थियो ।

अंग्रेजको औपनिवेशिक शासनकालमा १९४३ अगस्ट ११ मा मुसर्रफ भारतको दिल्लीमा जन्मिएका थिए । १९४७ मा भारत–पाकिस्तान विभाजित हुँदा उनको परिवार कराँची सरेको थियो, जसलाई पाकिस्तानमा मुहाजिर भन्ने गरिएको छ । १९६१ मा पाकिस्तानी सेनामा प्रवेश गरेका मुसर्रफ १९९९ मा रक्तपातविहीन सैनिक कुबाट सत्तामा पुगेका थिए । सडक आन्दोलनपछि संसद्ले महाभियोग लगाउने तयारी गरेपछि सन् २००८ मा उनको शासन टुंगिएको थियो । केही समय नजरबन्दमा परेका उनले उपचार गर्न भन्दै २०१६ मा पाकिस्तान छाडेका थिए । मुसर्रफलाई सन् २०१९ मा राज्यद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

२००१ सेप्टेम्बर ११ मा अमेरिकाले सुरु गरेको ‘आतंकवादविरुद्धको युद्ध’ मा मुसर्रफले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पश्चिमा देश र अतिवादी समूहको युद्धमा उनी अग्रपंक्तिमा रहे । दुवै पक्षबीच सन्तुलनकारी भूमिका निर्वाह गरे । अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिनेमा पाकिस्तान पनि थियो । अमेरिकाले तालिवानका प्रमुख ओसामा बिन लादेनलाई आश्रय दिएको भन्दै अफगानिस्तानमा गरेको सैनिक कारबाहीमा पाकिस्तानले सहयोग गरेको थियो ।

आतंकवादविरुद्धको युद्धमा मुसर्रफले अमेरिकाको साथ दिए पनि पाकिस्तानमा लुकेर बस्दै आएका लादेनको विषयमा आँखा चिम्लिएको आरोप लाग्दै आएको छ । अमेरिकी सेनाको कारबाहीमा लादेन २०११ मा पाकिस्तानको एबोट्टाबादमा मारिएका थिए ।

विश्लेषकहरू मुसर्रफले लिएको नीतिकै आधारमा पाकिस्तानको पछिल्लो राजनीति सञ्चालन भइरहेको बताउँछन् । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री सरिफले मुसर्रफलाई सेना प्रमुख बनाएका थिए । पाकिस्तानमा पञ्जाबीहरूको राज्यसत्तामा रहेको प्रभावलाई सन्तुलनमा ल्याउन सिन्ध प्रान्तका मुसर्रफलाई प्रमुख बनाइएको बताइन्छ । उनलाई सन् १९९८ मा सेना प्रमुख बनाइएको थियो । तत्कालीन सेना प्रमुख जहाँगिर करामतले देशको महत्त्वपूर्ण निर्णय गर्ने प्रक्रियामा सेनाको पनि भूमिका हुनुपर्ने बताएको दुई दिनपछि राजीनामा दिएका थिए । धेरै मानिसले त्यो राजीनामालाई प्रधानमन्त्री सरिफको राजनीतिक शक्ति बढेको र गैरसैनिक सरकारको भविष्य लामो समयसम्म सुरक्षित गरेको भन्दै टिप्पणी गरेका थिए ।

भारतसँग भएको कारगिल युद्धको विषयमा सरिफसँग बढेको तिक्ततापछि सैनिक कु भएको थियो । श्रीलंकाको औपचारिक भ्रमणमा रहेका मुसर्रफ फर्किने क्रममा प्रधानमन्त्री सरिफले उनलाई हटाएका थिए । उनले पाकिस्तान फर्किनेबित्तिकै सरिफलाई अपदस्थ गरेर शक्ति हातमा लिएका थिए ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : माघ २४, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?