रास्वपालाई रोक्न प्रधानमन्त्री नमानेको एमालेको आरोप

बबिता शर्मा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारबाहिर जानबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले नमानेको एमालेले आरोप लगाएको छ । प्रधानमन्त्री दाहालले पूर्वसहमतिअनुसार रास्वपालाई गृह मन्त्रालय नदिएकाले यो अवस्था आएको टिप्पणी पनि एमालेले गरेको छ । 

सत्ताबाट रास्वपाको बहिर्गमनपछि गठबन्धन संकटमा पर्ने जोखिम बढेको एमाले नेताहरू बताउँछन् । सत्ता साझेदार दलहरूबीचको अविश्वास बढ्दै जाने र त्यसको असर राष्ट्रपति निर्वाचनमा देखिने उनीहरूको आकलन छ । नेताहरूका अनुसार रास्वपाले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनसम्म सरकारलाई समर्थन जारी राख्ने अनौपचारिक बचन प्रधानमन्त्री दाहाललाई दिएको छ । कम्तीमा त्यतिबेलासम्म गठबन्धन बलियो बनाउने प्रयासमा दलहरू रहेका छन् । तर एमालेले पूर्वसहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडानमै रहेका बेला दाहालले राष्ट्रिय सहमतिको कुरा उठाइरहेकाले गठबन्धनमा निर्वाचनअघि नै संकट आउने जोखिम रहेको पनि नेताहरू बताउँछन् ।

गृह मन्त्रालय नपाएपछि रास्वपाले आइतबार सरकार छाडेको छ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई लगातार दबाब दिए पनि लामिछानेले पुरानै जिम्मेवारी पाएनन् । स्वार्थको द्वन्द्व हुने भन्दै दाहालले रास्वपालाई गृह मन्त्रालयसमेत दिन नसकिने अडान लिएका थिए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदारी गर्ने बेला दलहरूबीच भएको समझदारीलाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको तर कार्यान्वयन नहुँदा रास्वपा सत्ताबाट बाहिरिएको प्रतिक्रिया दिए । ‘रविजीले कतिपय कानुनी प्रक्रिया पूरा नगरेर यो स्थिति आयो । त्यसबारे अदालतले बोलिसकेको छ । यो सरकार बनाउँदा राज्यका मुख्य–मुख्य अंग र मन्त्रालयमा राजनीतिक दलहरूबीच समझदारी भएको थियो, त्यसैमा सबै अडिनुपर्छ । गृह मन्त्रालयमा केस नटुंगिँदासम्म रविजीलाई नफर्काउँ भन्ने हो भने पनि रास्वपालाई दिइनु पर्थ्यो,’ उनले भने, ‘त्यो नदिँदा उसले प्रतिष्ठाको विषय बनायो होला । पपुलर भोटको हिसाब गर्दा झन्डै माओवादी हाराहारीको शक्ति हो । उसको संवेदनशीलतालाई ध्यान दिनुपर्छ भनेर हामीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पनि गराएका हौं ।’

अहिलेको गठबन्धन भत्काउन विभिन्न ठाउँबाट प्रयास भएको उल्लेख गर्दै ज्ञवालीले सत्ता साझेदार दल बहकिन नहुने बताए । ‘अहिले नै यो स्थिति निर्माण हुनु दुःखद् हो । किनभने मुलुकले राजनीतिक स्थायित्व खोजेको छ । यो सत्ता सहकार्य विशेष संकल्पका साथ गठन गरिएको हो,’ उनले भने, ‘यसलाई दिगो बनाउनु सबैको कर्तव्य हो । गठबन्धन भत्काउन विभिन्न प्रयास भएका छन् । त्यसमा नबहकीकन सबैले परिपक्व भूमिका खेल्नुपर्छ ।’

रास्वपाको कदमले गठबन्धनभित्र अविश्वासको बीउ रोपेको एमाले नेताहरूको बुझाइ छ । उनीहरूका अनुसार यसले राष्ट्रपति निर्वाचन प्रभावित गर्न सक्ने जोखिम छ । ‘संयन्त्रको संयोजकले गरेको प्रस्ताव प्रधानमन्त्रीले मान्नुभएन । संयन्त्रको बैठक पनि बोलाउनुभएन । प्रतिक्रियास्वरूप रास्वपाले सरकार नै छाड्यो,’ एमाले स्थायी कमिटीका एक नेताले भने, ‘यो घटनाक्रमले प्रधानमन्त्री नै गठबन्धनको निरन्तरताको पक्षमा हो/होइन भन्ने आशंका जन्मेको छ । राष्ट्रपति निर्वाचनसम्म कसको के नियत भन्ने प्रस्ट पनि होला ।’

निर्वाचनमा एमाले र रास्वपाबीच तालमेल नभए पनि गठबन्धन बनेयता यी दुई दलका अध्यक्षबीच समुधर सम्बन्ध देखिन्थ्यो । एमाले अध्यक्ष ओलीकै चाहनामा रास्वपा अध्यक्ष लामिछानेले उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए । नागरिकता पुनःप्राप्तिको कानुनी प्रक्रिया पूरा नगरेको पाइएपछि सर्वोच्च अदालतले सांसद पद खारेज गरिदियो, यससँगै उनी उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीबाट पनि मुक्त भए । लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा गरेपछि उनलाई पुरानै जिम्मेवारी दिन ओलीले जोड दिएका थिए । लामिछानेको बचाउमा उत्रेका ओलीले सर्वोच्चको फैसलाप्रति पनि असन्तुष्टि राखेका छन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापा लामिछानेले सरकारबाट हटेर अपरिपक्व निर्णय गरेको बताउँछन् । ‘उहाँको पार्टीका अन्य मन्त्रीमाथि प्रश्न उठेको थिएन । रवि लामिछानेको विषयमा उठेको थियो, अदालतले फैसला गर्दियो । त्यसलाई उहाँले सहज ढंगले ग्रहण गर्नुपर्थ्यो,’ उनले भने, ‘सर्वोच्च अदालतको पूर्णपाठ नआएको हुँदा त्यसलाई पर्खिने कुरा हुँदै थियो । तर रविजीले हतारमा सरकारबाट हटेर अपरिपक्व निर्णय गर्नुभयो । उहाँ लोकप्रिय हुनका निम्ति जवाफदेहिता र उत्तरदायित्वबाट च्युत हुनुभयो । जिम्मेवारी लिएको मान्छेले अलिअलि आलोचना पनि खेप्नुपर्छ ।’

एमाले उपमहासचिव ज्ञवाली अझै पनि रास्वपासहित जसपा र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन प्रयास गर्ने बताउँछन् । ‘रास्वपा, जसपा र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याएर राजनीतिक स्थायित्वको प्रत्याभूत गराउने प्रयास एमालेले गर्छ,’ उनले भने, ‘दलहरूका आ-आफ्ना केही गुनासा छन् । त्यसकारण यी दललाई छुट्याइएका मन्त्रालय अहिले बाँडफाँट गर्नुहुँदैन । उनीहरूलाई सरकारमा ल्याउने प्रयास जारी राख्नुपर्छ ।’ प्रधानमन्त्री दाहालले पनि रास्वपालाई फेरि सरकारमा ल्याउन प्रयास गर्ने बताएका छन् ।

प्रकाशित : माघ २४, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

७ वर्षमा पनि बनेन स्वास्थ्य चौकी

भवन अलपत्र परेकोमा भ्रष्टाचारविरूद्ध नागरिक निगरानी केन्द्रको चासो, मुद्दामा जाने तयारी
प्रकाश बराल

बागलुङ — नियमित काम गरेको भए यहाँको भकुन्डे स्वास्थ्यचौकी २०७३ सालमै सकिन्थ्यो । ढिला भए पनि २०७४ को निर्वाचनअघि हस्तान्तरण भइसक्नुपर्नेमा हालसम्म पनि अलपत्र छ । 


काम थालेको ७ वर्ष बितिसक्दा पनि ठेकेदारले काम अलपत्र पारेर छोड्दा सेवाग्राहीले सास्ती खेप्न बाध्य छन् । भवन मात्र अलपत्र नभई स्थानीयको लाखौं रकमसमेत नतिरेपछि ठेकेदारविरुद्ध स्थानीय आक्रोशित छन् । बागलुङ नगरपालिका–१० भकुन्डेको स्वास्थ्यचौकी भवन रविना एन्ड कन्स्ट्रक्सन प्रालिले २०७२ मा ठेक्का लिएर अलपत्र छोडेको हो । अलपत्र भवन हस्तान्तरण नहुँदै जीर्ण भइसकेको छ ।

ठेकेदार कम्पनीले ६ पटकसम्म म्याद थप गर्दा पनि काम पूरा नगरेको सघन सहरी तथा भवन निर्माण आयोजनाकी प्रमुख सुनिता श्रेष्ठले बताइन् । ‘हामीले पटक–पटक म्याद थप मात्र हैन काम सक्न पनि आग्र्रह गरेका छौं, तर ठेकेदार कम्पनीले सबै म्याद गुजार्‍यो,’ श्रेष्ठले थपिन्, ‘अन्तिम पटकको थप म्याद पनि सकियो । अब कारबाहीको थालनी हुन्छ ।’ अन्तिम म्याद सकिएपछि कारबाही किन नगर्ने भन्ने सूचनाको म्यादसमेत गत शुक्रबार सकिएको उनले बताइन् ।

स्थानीय सरोकारवालाले पनि स्वास्थ्यचौकी भवन अलपत्र पार्नेलाई कारबाही गर्न सिफारिस गरेको वडा अध्यक्ष तिलबहादुर थापाले बताए । भवन अलपत्र परेकोमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी केन्द्रले पनि चासो लिएको छ । ‘जनतालाई समेत धोका दिएर भवन अलपत्र पारेकाले भ्रष्टाचार मुद्दामा जाने तयारी गर्दै छौं,’ केन्द्रका संयोजक शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘नागरिकले भोगेको सास्तीले ठेकेदारको गम्भीर लापरबाही देखिन्छ ।’ आयोजना प्रमुख श्रेष्ठका अनुसार भवनको रंगरोगन र केही झ्याल, ढोका राख्न बाँकी छ ।

अनुगमनमा शौचालयको काम पूरा नभएको, गेट नबनेको, भवनको बाहिरी परिसरमा पीसीसी नगरेको र झ्यालको पल्ला नबनाएको भेटिएको हो । ‘काम अलपत्र पार्दा भवनमा झार पलाइसकेको छ,’ आयोजना प्रमुख श्रेष्ठले भनिन्, ‘प्रतिशतको हिसाबले १४ प्रतिशत काम मात्रै बाँकी छ, काम नगरेकाले जनताले सास्ती पाए ।’ काम गरेको मजदुरले भुक्तानी नपाएकाले पटकपटक कार्यालयमा गुनासो आएको पनि उनले बताइन् । स्वास्थ्यचौकी उपभोक्ता समितिका सचिव भीमबहादुर मल्लका अनुसार ठेकेदारले धेरै मजदुरको ज्याला पनि दिएका छैनन् । ‘चार जना मिस्त्रीको झन्डै ३ लाख ५० हजार बढी भुक्तानी बाँकी छ,’ उनले भने, ‘सामान ल्याएको पनि भुक्तानी दिएका छैनन् ।’

भवन नहुँदा अप्ठ्यारो

मुख्य भवन नबन्दा भकुन्डे स्वास्थ्यचौकीको पुरानो भवनको चार कोठामध्ये एउटा कोठा कार्यालय प्रमुखको छ । एउटामा बिरामी जाँच्ने र अर्कोमा औषधिको भण्डारण गरिएको छ । बाँकी रहेको एक कोठामा कम्प्युटरसहितको कार्यालय प्रयोजनको काम हुन्छ । त्यसैमा पार्टेसन गरेर सुत्केरी कोठा पनि बनाइएको छ । गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्नुपरेमा पनि गोप्य कोठा छैन । सुत्केरी गराउनुपर्दा चाहिने उपकरणसमेत नअट्ने उक्त कोठामा सेवा प्रवाह नै प्रभावित भएको छ । उपचारका लागि आउने घाइतेलाई समेत कोठा नहुँदा औषधि भण्डारण गरिएकै स्थानमा उपचार दिनुपर्ने बाध्यता छ । बिरामीका लागि समेत पर्याप्त कोठा नभएको स्वास्थ्यचौकीमा कुरुवाहरू आँगनमा बस्न बाध्य छन् ।

ठेकेदारले काम पूरा नगर्दा वर्षौंदेखि स्वास्थ्यकर्मी र बिरामीका आफन्तले यो सास्ती भोग्नुपरेको हो । ठेक्काको काम ६ पटक म्याद थप्दा पनि पूरा नगर्दा सास्ती भोग्नुपरेको स्वास्थ्यचौकी इन्चार्ज उमेश सर्बुजाले बताए । अन्तिम पटकको म्याद पनि गत असोज ३० मा सकिएको हो । ‘नयाँ भवन बनेर पनि काम पूरा नभएकाले सार्न पाइएन,’ उनले भने, ‘पुरानो र जीर्ण भवनमा बस्नुपर्दा काम गर्नै अप्ठ्यारो भएको छ ।’ यहाँ कार्यरत ५ जना स्वास्थ्यकर्मीले आफ्नो जिम्माको काम गर्न पनि कोठा नभएर एकैठाउँमा पालो लगाउनु परेको गुनासो गरे ।

यहाँ वर्षमा झन्डै ५० देखि ७० जना गर्भवती नियमित स्वास्थ्य परीक्षणमा आइरहेकोमा सुत्केरी हुने बेलामा सहर जान बाध्य भएको अनमी देवी थापाले बताइन् ।

‘नियमित गर्भ परीक्षण गर्न यहीं आउनु हुन्छ, तर साँघुरो र अप्ठ्यारो भवन देखेपछि सुत्केरी हुनेबेला अधिकांश सहरका अस्पताल जाने गर्नुभएको छ ।’ एक/दुई दिनअघि नै सदरमुकाम झरेर कोही होटलमा बस्ने, कोही आफन्तको घर खोज्ने गरेको उनले बताइन् । जनशक्ति भएर पनि भवन अभावमा पर्याप्त सेवा दिन नसकेको उनले गुनासो गरिन् ।

प्रकाशित : माघ २४, २०७९ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×