अनुदान हिनामिना गरेको कसुरमा ६ जना विरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला कृषि विकास कार्यालय हुम्लाको अनुदान रकम हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक कृषि ज्ञान केन्द्र हुम्लाका तत्कालीन निमित्त प्रमुख रामसुरत पाल (गडरिया)सहित ६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय हुम्लाबाट आब २०७५/७६ मा सहकारी नमुना गाउँ स्थापना तथा सञ्चालन गर्न बिनियोजित ११ लाख २६ हजार ५ सय २८ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले कृषि विकास कार्यालयका निमित्त प्रमुख पालसहित तत्कालीन सव इन्जिनियर दिलबहादुर बोहरा तथा शृजनशील कृषि सहकारी लिमिटेडका तत्कालीन अध्यक्ष प्रयागलाल बुढा, सचिव नन्दबहादुर रोकाया, कोषाध्यक्ष रामशिला रोकाया र सदस्य प्रेमबहादुर बुढा विरुद्ध बिगो, कैद र जरिवानाको मागदाबीसहित सोमबार मुद्दा दायर भएको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार कार्यालय प्रमुख पाल र सव इन्जिनियर विरुद्ध समान ११ लाख लाख २६ हजार ५ सय २८ रुपैया बिगो, त्यति नै जरिवाना र कैद सजाय मागदाबी गरिएको छ । रकम हिनामिना गर्ने सहकारीका अध्यक्षसहित चार जनालाई पनि हिनामिना भएको रकम बिगो कायम र बिगो बमोजिम जरिवाना तथा कैद सजाय गर्न माग गरिएको छ ।

कर्णाली प्रदेश सरकारको बजेटबाट सञ्चालन गरिएको सो कार्यक्रमको रकम हिनामिना गर्न फर्जी कागजात बनाएको खुलेको छ ।

अख्तियारको अनुसन्धानमा नमुना सहकारी गाउँ स्थापना गर्न लिएको अनुदान अन्तर्गत जिल्लाको उन्मादे खोलादेखि बल्देकाध सिँचाइ कुलो निर्माण र सहकारी नमुना गाउको जग्गा घेरवार गर्ने नाममा फर्जी कागजात बनाएर वास्तविक भन्दा बढी काम भएको देखाएको खुलेको छ ।

प्रकाशित : माघ २३, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

‘फोन-पे’ मार्फत इन्टरनेटबिनै भुक्तानी गर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — फोन-पे एपमार्फत इन्टरनेटबिना पनि भुक्तानी गर्न सकिने भएको छ । यसअघिसम्म इन्टरनेटमार्फत मात्र कारोबार हुँदै आएको फोन पेले अब इन्टरनेटबिनै पनि कारोबार गर्न मिल्ने फिचर थपेको हो । गत साता राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुङ्गानाले उक्त सुविधाको शुभारम्भ गरेकी हुन् । यो फोन पेले बजारमा ल्याएको नयाँ फिचर हो । यो सुविधाले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायीहरूका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने दाबी कम्पनीले गरेको छ ।

कार्यक्रममा फोन पेको आफलाइन फिचरमार्फत धेरै ग्राहकले सुविधा पाउने डेपुटी गभर्नर ढुंगानाले बताइन् । ‘यो नविनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु,’ उनले भनिन्, ‘क्यूआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्ष्यमा फोन पेको आफलाइन फिचर कोशेढुंगा सावित हुनेमा म विश्वस्त छु ।’

फोन पेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिनाभुक्तानी गर्न मिल्छ । तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकको नगदरहित कारोबार बनाउने अभियानलाई पनि साकार पार्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।

फोन पेले विगत ३ वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पेमा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ता छन् । ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध रहेको फोन पेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ २३, २०७९ १७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×