१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मिडिया घेराउ गर्ने लामिछानेको अभिव्यक्ति आपत्तिजनक : प्रेस युनियन

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।

मिडिया घेराउ गर्ने लामिछानेको अभिव्यक्ति आपत्तिजनक : प्रेस युनियन

आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि पत्रकार सम्मेलन गर्दै पत्रकार र मिडिया क्षेत्रमाथि लाञ्छना लगाएका नेता लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

'नेपाली पत्रकारिता क्षेत्रले पञ्चायतकाल, २०४६, २०६२/६३ को राजनीतिक परिवर्तन गर्न ठूलो जोखिम मोलेर मुलुकको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिका सबैलाई अवगत छ । मिडियाले मुलुकमा भएका ठूला–ठूला भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युनियनको छ । लामिछाने जो आफैं सञ्चारकर्मबाट जनताका मुद्दा उठाएर परिचित भएपछि मात्र यो स्थानमा पुगेका हुन् । सञ्चारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले पत्रकारितालाई दुश्मनको जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय छ,' युनियनले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार माध्यमले प्रकाशन गरेका सामग्रीको बारेमा चित्त नबुझे कानुनी उपचारमा जानसक्ने विकल्प हुँदाहुँदै लामिछानेले सञ्चारमाध्यमकै मानमर्दन गरेको भन्दै त्यसप्रति युनियनले आपत्ति जनाएको हो । साथै एक परिपक्व राजनीतिकर्मीबाट यस्तो धम्कीपूर्ण भाषा प्रयोग भएकोमा पनि युनियनले खेद्‍ प्रकट गरेको जनाएको छ ।

युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पत्रकारिताका कमी, कमजोरीलाई विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने मान्यता युनियनले राख्छ । मुलुकको नेतृत्व लिएर सुधार गर्ने प्रतिबद्धतासहित आएका राजनीतिकर्मी र सञ्चारमाध्यमलाई दोषारोपण गरेर आफू चोखिन खोज्नु साह्रै दुःखद पक्ष हो । लामिछानेको नागरिकताको विषयमा सञ्चारमाध्यमले जनतासम्म सूचना पुर्‍याएकोमा आक्रोश पोखेको देखिन्छ । अदालतको फैसला अनुसार उनले गैरकानुनी रूपमा राखेको नागरिकता मात्रै नभएर समाजमा विद्यमान अन्य बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको विषयमा नेपाली प्रेस अझै दृढ रूपमा प्रस्तुत हुने अठोटसमेत व्यक्त गर्दछौं ।' यस्तै प्रेस युनियनले विधिको शासन, लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारितामाथि आफूले विश्वास राख्ने पनि जनाएको छ ।


प्रकाशित : माघ २२, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?