प्रधानमन्त्री दाहालसँग नेकपा महासचिव चन्दको भेट - समाचार - कान्तिपुर समाचार

प्रधानमन्त्री दाहालसँग नेकपा महासचिव चन्दको भेट 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन् । नेताहरूले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल राजनीतिक छलफल गरेका उनको सचिवालयले जनाएको छ ।

सचिवालयलका अनुसार माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको छ । सो क्रममा तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ ।

माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएको दाबी गरिएको छ ।

भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाईका लागि सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित : माघ २२, २०७९ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्

फिल्म क्षेत्रका समस्याबारे सञ्चारमन्त्री शर्मालाई निर्माता संघको ज्ञापन

संचारमन्त्री शर्माको आग्रह- 'गुणस्तरीय फिल्म बनाउनुस्' 
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चलचित्र निर्माता संघले फिल्म क्षेत्रका विभिन्न समस्या समाधान तथा नीति निर्माणका विषयमा संचार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माको ध्यानाकर्षण गराएको छ । 

संघले आइतबार मन्त्री शर्मालाई भेटेर नेपाली फिल्मको शेयर बाँडफाँटमा निर्माताले ब्यहोर्दै आइरहेको समस्या समाधानलगायत विषयमा ज्ञापनपत्र बुझाएको हो । संघले शेयर बाँडफाँटमा पहिलो हप्ता ६०, दोस्रोमा ५० र तेस्रो हप्तादेखि प्रदर्शनरत फिल्म हलबाट नउत्रुञ्जेल ४० प्रतिशत पाउनुपर्ने माग गरेको छ ।

त्यस्तै, हलले फिल्म प्रदर्शनको ३ हप्ताअघिदेखि नि:शुल्क ट्रेलर बजाउनुपर्ने, राष्ट्रिय पर्वहरुमा हलले नेपाली फिल्मलाई नै प्राथमिकता दिनुपर्ने, कम्तीमा २ सय ५० दिनसम्ममा नेपाली फिल्म अनिवार्यरुपमा प्रदर्शन गर्नै पर्ने, वितरकले प्रत्येक हप्ता फिल्मको व्यापारको बिल जारी गर्नुपर्ने र पहिलो हप्ताको शेयर हलले दोस्रो हप्तासम्म भुक्तानी गर्नुपर्ने उल्लख गरिएको छ ।

प्रत्येक प्रदेशमा छायांकन स्टुडियोसमेत निर्माण गर्नुपर्ने, आदिवासी जनजाती र सिमान्तकृत फिल्म निर्माण प्रदर्शनमा प्राथमिकता दिई अनुदानको व्यवस्था गर्नुपर्ने, बक्स अफिसको सर्भर र कोडिङ प्रणालीको विकास गरी नि:शुल्क व्यवस्था गरिनुपर्नेलगायत माग ज्ञापनपत्रमा उल्लेख छन् ।

मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउँदै निर्माता संघका अध्यक्ष नवल खड्काले भने, 'हाम्रा मागहरु पूरा गर्नमा मन्त्रीज्यूको महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने विश्वास छ । नेपाली फिल्म क्षेत्रको स्वर्णिम युग यहाँको कार्यकालमा देख्न सक्ने अवस्था सिर्जना होस् ।'

मन्त्री शर्माले भने नीति निर्माणका पक्षमा आफूले पहल गर्ने बताउँदै निर्माताहरुलाई गुणस्तरीय फिल्म निर्माण गर्न आग्रह गरिन् । 'यो माग अथवा सुझाव मन्त्रालयका लागि अति नै महत्त्वपूर्ण छ । नेपाली फिल्म क्षेत्रलाई समृद्ध बनाउन राज्यले नीति नियमका पक्षमा निभाउनुपर्ने भूमिका हामीले गर्नैपर्छ,' उनले भनिन्, 'राज्यले के गर्दा नेपाली क्षेत्रलाई राम्रो हुन्छ भन्ने विषयमा नीति नियम अथवा अन्य कुनै वातावरण बनाएर जान सक्छौं । तर, नेपाली निर्माता समक्ष नेपाली फिल्मको गुणस्तर बढाउन आवश्यक अध्ययनको जिम्मेवारी भने तपाईंहरुकै हो भन्नु चाहन्छु । गुणस्तरीय फिल्म निर्माणका विषयमा समीक्षा जरुरी छ ।'

संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले भने विदेशी फिल्मको प्रदर्शनमा कोटा प्रणाली लगाउनुपर्नेसमेत बताए । नेपाली फिल्मको रोयल्टी पाउनका लागि भने डिजिटल हब निर्माण गरी फिल्म प्रदर्शनमा ल्याउने व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष खड्कासँगै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता शिव श्रेष्ठ, निर्देशक मिलन चाम्स, ज्ञानेन्द्र देउजालगायतको उपस्थिति थियो ।

प्रकाशित : माघ २२, २०७९ २०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×