रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा- समाचार - कान्तिपुर समाचार

रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उक्त पार्टीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।

आइतबार बिहानै बसेको रास्वपाको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय गरेको थियो । यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

जसअनुसार रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन् ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट सांसद पद खारेज गरिएका रास्वपाका सभापति लामिछानेले केही दिनदेखि नै गृह मन्त्रालय पाउनुपर्ने अडान राख्दै आए पनि सत्ता घटक प्रमुख दलहरू तयार नहुँदा उनको पार्टीका मन्त्रीहरू सरकारबाट बाहिरिएका हुन् ।

प्रकाशित : माघ २२, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्

हाम्रो पार्टीमा विवाद छैन, सुझाव आएको हो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गरेका छन् ।

आइतबार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चार माध्याममा आएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

पार्टीमा मतभेद नरहेको र नेताहरुबीच पनि कुनै खटपट नभएको उनको भनाइ थियो । ‘बाहिर पत्रिकामा मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ । उहाँको सुझाव हो त्यो । पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ ? कम्युनिस्ट आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ ? नेपालको राजनीतिक कम्युनिस्ट आन्दोलनको हैसियतलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ ? भन्नेमा उहाँलाई लागेका विचारहरु हुन् । यसर्थमा त्यसलाई अन्य अर्थमा लिनुपर्ने कुनै आवश्यकता छैन । हाम्रो पार्टीभित्र यो पार्टीलाई एकताबद्ध बनाएर लैजाने बारेमा पार्टीलाई सुदृढ बनाउने बारेमा कुनै मतभेदहरु छैनन् । यसबारे कमरेडहरु ढुक्क भएर जानु भए हुन्छ । नेताहरुबीच खटपट भएको भन्ने लागेको होला छैन,’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए ।

प्रकाशित : माघ २२, २०७९ १९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×