ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मनोनयन गरे सल्लाहकार- समाचार - कान्तिपुर समाचार

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मनोनयन गरे सल्लाहकार

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञहरूलाई आफ्नो सल्लाहकारमा मनोनयन गरेका छन् ।

जनप्रतिनिधिसँग सबै क्षेत्रको ज्ञान नहुने भएकाले विज्ञको सुझाव लिएर काम गर्न सल्लाहकार मनोनित गरेको महानगर प्रमुख महर्जनले बताए । उनले भने, ‘महानगरको श्रीवृद्धिका लागि यहाँहरूको योगदान महत्वपूर्ण हुने विश्वास लिएको छु ।’

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एन्सेट) विपद् जोखिम न्यूनीकरण गर्ने विज्ञ संस्था, मदनलाल न्याछ्यो अमूर्त सम्पदा विज्ञ, लोकबहादुर खड्का शिक्षा सल्लाहकार, दिलेन्द्रराज श्रेष्ठ पर्यटन विज्ञ, डा. रोहित रञ्जितकार सम्पदा सल्लाहकार, पदमकृष्ण श्रेष्ठ खेलकुद सल्लाहकारण, पद्मसुन्दर जोशी परम्परागत पानी व्यवस्थापन विज्ञ, रिद्धिबाबा प्रधान समाजकल्यण विज्ञ, डा. तारामान अमात्य जनस्वास्थ्य विज्ञ, प्रा.डा. पुष्पमान अमात्य वनस्पति विज्ञ, डा. मदनकुमार पिया अर्बुद रोग विज्ञ तथा तीर्थमान शाक्य प्रशासन विज्ञका रुपमा मनोनित भएका छन् ।

प्रकाशित : माघ २२, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

सत्तारुढ गठबन्धनभित्रैबाट राष्ट्रपति बन्छ : उपमहासचिव गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धनभित्रैबाट राष्ट्रपति बन्ने बताएका छन् । उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए ।

संघीय संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे । ‘गठबन्धनभित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि । गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो । त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो सकभर । राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ नि ! राष्ट्रपति एमालेभित्रै छ नि !,' उपमहासचिव गुरुङले भने, 'मेरो नाम चर्चामा आए पनि राष्ट्रपतिको दौडमा म भने छैन ।’

उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा कांग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए ।

प्रकाशित : माघ २२, २०७९ १९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×