मिडियामाथि खनिए लामिछाने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिडियामाथि खनिए लामिछाने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने भन्दै काठमाडौंमा सञ्चालित प्रमुख मिडियाप्रति आक्रोश पोखेका छन् । उनले कतिपय मिडियाको नाम नै किटान गरेर नानाभाँती आरोप लगाएका छन् ।

आइतबार सरकारबाट बाहिरिने निर्णय गर्दै उनले आफूप्रति मिडियाहरू प्रायोजित रूपमा लागेको आरोप लगाए । 'देश नेताले चलाउने हो मिडियाले हैन,' लामिछानेले भने ।

यस्तै उनले कतिपय मिडियाका सञ्चालकको नाम किटान गर्दै चुनावी प्रतिस्पर्धामा आउन पनि चुनौती दिए । साथै, मिडियाको एक पक्षीय प्रहारका कारण नै अदालतले आफू विरुद्धको मुद्दाको छिटो सुनुवाइ भएको आरोप लगाउँदै उनले भने- 'अदालतमा कति मुद्दाको चाङ छ होला तर मेरै मुद्दा अगाडि सुनुवाइ किन भयो ? मेरै मुद्दा छिन्नका लागि लाइन मिचियो । खैर ठीक छ म त्यसलाई स्वीकार गर्छु ।'

यस्तै, देश बिग्रनुमा पनि प्रमुख भनिएका मिडियाको हात रहेको लामिछानेले पत्रकार सम्मेलनमा आरोप लगाए । यस क्रममा लामिछानेले आफूले जनताको भलाइका लागि काम गरिरहँदा मिडियाले भने आफूलाई पाखा लगाउनमा मात्रै केन्द्रित रहेको आरोप सम्मेलन भर दोहोर्‍याइ रहे ।

लामिछानेले पत्रकार सम्मेलनको सुरुमै आफू 'मिडिया इथिक्स' र 'कन्फ्लिक्ट अफ इन्टरेस्ट'बारे बोल्ने भन्दै मिडियामाथि आरोप लगाएका थिए ।

प्रकाशित : माघ २२, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीले तपाईं नभएपछि गृह मन्त्रालय दिन मिल्दैन भन्नुभयो : रवि लामिछाने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको शक्ति बाँडफाँटबमोजिम पार्टीले गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा पार्टीले गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका हुन् ।

‘गृह मन्त्रालय हामीले शक्ति बाँडफाँटमा गठबन्धनमा सम्झौता गरिसकेको विषय हो । त्यहीअनुसार पार्टीले पाउनुपर्छ भनेका थियौं,’ उनले भने, ‘प्रधानमन्त्रीले तपाईं पार्टी अध्यक्ष भएको हिसाबले तपाईं आफैँ हुँदा गृह मन्त्रालय ठीक थियो, अब हुँदैन भन्नुभयो । हामीले गृह मन्त्रालयबाटै धेरै डेलिभेरी दिन सक्थ्यौं भन्ने थियो, त्यो नभएपछि हामी रहेनौं ।’

उनले आफूले पनि पुनः गृहमन्त्री बन्न चाहेको, तर सत्ता गठबन्धनमा स्वीकार्य नभएपछि सरकारबाट बाहिरिएको बताए । ‘हामीले गृह नै माग्नुको कारण छ । सरकारमा गइसकेपछि हामीले डेलिभेरी दिनुपर्ने हुन्छ । त्यो डेलिभेरी जहाँ हुन्छ, त्यहाँ जाने हो,’ उनले भने, ‘मैले नै नपाएका कारण सरकार छोडेको होइन ।’

प्रकाशित : माघ २२, २०७९ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×