२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ओलीको प्रश्न - रवि लामिछानेविरुद्ध सर्वोच्चले गरेको फैसलाले कसले न्याय पायो ? 

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाबाट कसले न्याय पाएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै ओलीले सर्वोच्चको निर्णयलाई आफूहरुले मान्ने तर लामिछानेको नागरिकताले उजुरीकर्तालाई के अन्याय परेको र के न्याय पाए भन्दै प्रश्न गरेका हुन् । 

ओलीको प्रश्न - रवि लामिछानेविरुद्ध सर्वोच्चले गरेको फैसलाले कसले न्याय पायो ? 

'उजुरीकर्ता व्यक्तिलाई के मर्का पर्‍यो ? के सरोकार के सम्बन्ध हो र के मर्का पर्‍यो । के अन्याय पर्‍यो र न्याय खोजेको हो,' उनले भने, 'एउटा असम्बन्धित व्यक्तिले निवेदन गरेको छ । यो फैसलाले कसले न्याय पायो ? ' उनले अदालतको काम न्याय दिने तर फैसलाबाट कसले न्याय पाएको भन्नेबारे आफूले नबुझेको बताए । उनले प्रश्न गर्दै भने, 'कसले मर्काबाट उन्मुक्ति पायो । न्याय दिनका लागि अदालत हो । कसले न्याय पायो ?'

उनले प्रक्रियागत त्रुटिको आधारमा एउटा व्यक्तिको पद नै गएको बताए । निर्वाचन आयोगले वैधानिक छ भनेर सदर गरेको उम्मेदवार सार्वभौम सम्पन्न जनताले अत्यधिक मतले निर्वाचित गरेको व्यक्तिको पद प्रक्रियागत त्रुटिले गएको बताए । 'रवि लामिछाने ढोका खुला राखेर फुत्त संसद्‌मा पसेका हैनन्,' उनले भने, 'उजुरी परेपछि वैधानिक छ भनेर निर्वाचन आयोगले सदर गरेको । सार्वभौम सम्पन्न जनताले अत्यधिक मतले छानेको । पद गयो, केले भन्दा एउटा प्रक्रियागत त्रुटिले । पार्टी अध्यक्ष गयो । गृहमन्त्री गयो । उपप्रधानमन्त्री पद गयो । रवि लामिछानेलाई न्याय भएन भने कसले न्याय पायो ?'

ओलीले अदालतको फैसलालाई आफूहरुले मान्ने बताउँदै रवि लामिछानेसँग आफ्नो न कुनै संगठनात्मक, न नाता/सम्बन्ध केही नरहेको भन्दै फैसला भएको शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म उनको नागरिकता के भयो त्यो सम्बन्धमा आफूले नबुझेको बताए ।

'आइतबार बिहान जारी भएको नागरिकतामा पुरानै मिति छ । यो बिदाको दिनको बीचको प्रक्रिया आइतबार सच्याएर ल्याउ भनेर पुग्थ्यो होला प्रक्रियागत त्रुटिलाई । तर यो फैसलाले कसले न्याय पायो ?', ओलीले भने ।


प्रकाशित : माघ २२, २०७९ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?