सम्पत्ति शुद्धीकरण विधेयक संसद्‌मा नल्याउनु गम्भीर : पौडेल- समाचार - कान्तिपुर समाचार

सम्पत्ति शुद्धीकरण विधेयक संसद्‌मा नल्याउनु गम्भीर : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्‌मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले यथाशिघ्र विधेयकलाई संसद्‌मा ल्याउन र पारित गरेर नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन माग गरे ।

‘सम्पित्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन बनेको विधेयकलाई हालसम्म पनि संसद्‌मा ल्याइएको छैन, यो गम्भीर विषय हो,’ उनले भने, ‘गत पौषमा एफएटीएफको टोली नेपालको स्थलगत मूल्यांकन गरेर फर्कियो । उसले नेपाललाई तत्काल यससम्बन्धी कानुन बनाऊ, नत्र तिम्रो देश ग्रे जोनमा पर्छ भनेर सुझाव दिएको छ । उसले तोकेको मापदण्ड पूरा नगर्दा कतिपय ठूला देशहरू आर्थिक विकासको ठूला सञ्जालबाट बाहिरिएका छन् । जसको कारण ती देशहरूले आर्थिक संकटको सामना गर्नुपरेको छ । यस्तोमा हाम्रोजस्तो देशले दण्डित हुने अवस्था बन्यो भने संकटपूर्ण अवस्था आउन सक्छ ।’

उनले सरकारले बेलैमा अन्तर्राष्ट्रिय जगत्‌लाई विश्वस्त बनाउने गरी विधेयक ल्याएर संकटबाट मुक्त गर्नुपर्ने बताए ।

प्रकाशित : माघ २२, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस सांसद सिंहको प्रश्न– 'काठमाडौंबासीले मेलम्चीको पानी बाह्रै *महिना कहिलेदेखि पाउने ?' 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भएपनि त्यसबाट काठमाडौंबासीले बाह्रै महिना पानी खान पाउने अवस्था नरहेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले मेलम्चीको खानेपानी बाह्रै महिना वितरण हुने संयन्त्र विकास गर्न माग गरे ।

उनले खानेपानी आयोजनामा काम गर्ने श्रमिकले साउन देखि तलब खान नपाएको भन्दै उनीहरूलाई समयमै तलब दिन र खानेपानी वितरणलाई व्यवस्थित गर्न माग गरे ।

‘काठमाडौंबासीले दुई दशकभन्दा लामो समय पर्खिएर मेलम्चीको पानी बल्ल–बल्ल चाख्न पाएका छन् । वर्षात्‌को समयमा बन्द हुने, वर्षा सकिएपछि मात्रै फेरि पानी वितरण हुने कारणले गर्दाखेरि बाह्रै महिना खानेपानीको सुविधा नहुने अवस्था छ,’ उनले भने, ‘बाह्रै महिना खानेपानीको बन्दोबस्त गर्न आवश्यक कदम चाल्नका लागि म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

*यसअघिको समाचारमा महिनाको स्थानमा अन्यथा भएकोले सच्याइएको छ । –सम्पादक

प्रकाशित : माघ २२, २०७९ १३:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×