आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा श्रेष्ठले दिए निवेदन- समाचार - कान्तिपुर समाचार

आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा श्रेष्ठले दिए निवेदन

उपनिर्वाचनको माध्यम बाहेक कानुनमा अर्को विकल्प छैन : निर्वाचन आयोग
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आइतबार निर्वाचन आयोग पुगेर नेता श्रेष्ठले उम्मेदवारी दिएका हुन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् । उनले आज नै यसबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए । उनले उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे ।

‘निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र उपर दाबी विरोध गर्ने, मनोनयन पत्र जाँचबुझ गर्ने चरण एउटा हुन्छ, त्यो चरण पार गरिसकेपछि निर्वाचनको परिणाम नआउन्जेलसम्मको चरण अर्को हुन्छ, निर्वाचनको परिणाम आइसकेपछि योग्यताका सम्बन्धमा प्रश्न उठ्ने त्यसको निरुपण गर्ने भनेको संवैधानिक इजलासले गरेको हुन्छ, अर्यालले भने, ‘चितवन निर्वाचन क्षेत्र नम्बर २ को कुरा संवैधानिक इजलासमा प्रश्न उठेर योग्यताको प्रश्न छ, यसले उक्त निर्वाचन क्षेत्रको पद रिक्त भएको अवस्थामा निर्वाचन आयोगले गर्ने भनेको उपनिर्वाचनबाट पदपूर्ति गर्ने हो । ६ महिनाभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने भन्ने छ । यस बाहेक कानुनमा स्पष्ट रुपमा अरु कुरा लेखिएको छैन ।’

सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेको कारण रहेको भन्दै उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए ।

प्रकाशित : माघ २२, २०७९ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसले उल्लेख गरेको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत थिए ।

सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल कराँचीबाट अध्ययन सुरु गरेका थिए भने लाहोरस्थिति क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गरेका थिए ।

१९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुईवटा हत्याको अभियोगसमेत लागेको थियो ।

उनीमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ । उनीमाथि २००७ संविधानलाई निलम्बन सम्बन्धी राष्ट्रद्रोहको मुद्दासमेत रहेको छ । मुसर्रफ २०१६ मार्चदेखि दुबईमा बस्दै आएका छन् ।

प्रकाशित : माघ २२, २०७९ १२:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×