कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

थन्कियो चन्दाले किनिएको अक्सिजन प्लान्ट

दीपक परियार

पोखरा — कोभिड महामारीको दोस्रो लहर चलिरहँदा पोखराका अस्पतालमा अक्सिजनको चरम अभाव भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ०७८ जेठ १४ मा एकैदिन ६ जना कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाए ।

थन्कियो चन्दाले किनिएको अक्सिजन प्लान्ट

त्यतिबेलै व्यावसायिक घराना बतास समूहको गैरसरकारी संस्था बतास फाउन्डेसनको अगुवाइमा अक्सिजन प्लान्ट किन्न चन्दा संकलन अभियान सुरु भयो । त्यसबाट साढे ३ करोड रुपैयाँ जम्मा भयो । २०–२२ दिनमा फ्रान्सबाट अक्सिजन प्लान्ट ल्याउने भनिए पनि डेढ वर्षसम्म आएन ।

फाउन्डेसनले डेढ वर्षपछि गत मंसिर २० मा दिनमा ५०–५० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएका तीन प्लान्ट र एउटा फिलर सिस्टम ल्याएर अस्पताललाई हस्तान्तरण गर्‍यो । सर्वसाधारणबाट चन्दा संकलन गरेर खरिद गरिएको अक्सिजन प्लान्ट अहिले अलपत्र छ । किनकि उक्त प्लान्ट आउनुअघि नै अस्पतालमा तीनवटा प्लान्ट जडान भइसकेका थिए । फाउन्डेसनले अक्सिजन प्लान्ट ल्याउने मात्रै आफ्नो जिम्मा भएको बताएको छ भने अस्पताल प्लान्ट राख्ने भवनसमेत बनाइदिनुपर्ने वा अन्यत्र लैजानुपर्ने अडानमा छ ।

नागरिक समाजका अगुवा रामबहादुर पौडेलले अक्सिजन प्लान्ट खरिद गर्न २५ हजार रुपैयाँ चन्दा दिएका थिए । अस्पतालमा एउटा पनि अक्सिजन प्लान्ट नहुँदा संक्रमितले ज्यान गुमाउनुपरिरहेको अवस्थामा बतास फाउन्डेसनले तुरुन्तै प्लान्ट ल्याउने बताएपछि आफूले सहयोग गरेको पौडेल बताउँछन् । ‘डेढ वर्षसम्म प्लान्ट नआएपछि सर्वसाधारणको पैसा कहाँ गयो भनेर खोजी भयो । त्यसपछि मात्रै प्लान्ट आयो,’ उनले भने, ‘आवश्यक परेको बेला आएन । अहिले अस्पताललाई आवश्यक छैन भन्ने सुनेको छु । त्यहाँ आवश्यक छैन भने अन्य अस्पतालमा लैजानुपर्छ ।’

अक्सिजन प्लान्ट खरिद गर्न ‘रु. १०० दान गरौं, महामारीमा प्राण राखौं’ अभियान चलाइएको थियो । सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापनासम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासको संयोजकत्वमा तदर्थ समिति बनेको थियो । त्यसको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर जीसी थिए भने समितिमा पोखराका व्यावसायिक घरानाका प्रतिनिधि सदस्य थिए ।

बतास फाउन्डेसनमार्फत २५ लाख, बतास अर्गनाइजेसनकै भगिनी कम्पनी बी–रिभर माइनिङ प्रालिबाट २५ लाख र लाइफ अटोमोबाइन्स प्रालिबाट ३ लाख रुपैयाँ गरेर ५३ लाख रुपैयाँ संकलन गरिएको थियो । पोखराकै केसी ग्रुप, गोशली हाउसलगायत व्यावसायिक घरानादेखि विदेशमा रहेका नेपालीसमेतले सहयोग गरेका थिए । तर कोरोना महामारीका बेला प्लान्ट आएन । बरु महामारीकै समयमा अस्पतालमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले प्रतिदिन २ सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सहयोग गर्‍यो । केही समयपछि स्वास्थ्य मन्त्रालयले अर्को प्लान्ट थप्यो । अस्पतालको रेट्रोफिटिङ परियोजनामार्फत थप प्लान्ट स्थापना भयो । तीनवटा प्लान्टबाट दिनमा ४ सय ५० सिलिन्डर अक्सिजन उत्पादन हुन सक्छ ।

अस्पतालका निर्देशक डा. भरतबहादुर खत्री स्वयंले अभियानलाई ५० हजार रुपैयाँ चन्दा दिएका थिए । उनका अनुसार हाल अक्सिजनको खपत धेरै नभएको र सबै प्लान्ट चलाउँदा विद्युत् खपत धेरै हुने भएकाले तीनवटा प्लान्ट पालैपालो चलाउने गरिएको छ । पहिलेकै जस्तो महामारी आउँदा पनि ५ सय शय्याको अस्पताललाई अहिलेका अक्सिजन प्लान्ट पर्याप्त हुने उनी बताउँछन् । ‘बतासलाई अहिले हाम्रो अस्पताललाई अक्सिजन प्लान्ट आवश्यक नभएकाले अरू अस्पतालमा चाहिन्छ भने दिनुस् भनेका थियौं,’ डा. खत्रीले भने, ‘उहाँहरूले यहीं राख्ने भनेपछि भवन बनाइदिनुस् भनेर जग्गा देखाइदियौं । तर खाए खा, नखाए घिच भनेजसरी मिल्काएर जानुभयो ।’

फाउन्डेसनले मंसिर २० मा विज्ञप्ति प्रकाशित गरी ०७८ जेठ ६ मा फ्रान्समा प्लान्ट खरिद गरिसकेको भए पनि अघिल्लो सरकार, कार्गो कम्पनी र आयातकर्ताबीचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भएको जनाएको थियो । फाउन्डेसनका प्रवक्ता नारायण पौडेलले आफूहरूले प्लान्ट हस्तान्तरण गरिसकेकाले व्यवस्थापनको जिम्मा अस्पतालको भएको बताए । ‘अक्सिजन प्लान्ट बुझेको/बुझाएको पत्र हामीसँग छ,’ उनले भने, ‘प्लान्ट दिने भनेका हौं, दियौं । चलेको छ कि थन्किएको छ भन्ने हाम्रो सरोकारको विषय होइन ।’

प्रकाशित : माघ २२, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?