‘संघीयता संस्थागत गर्न सोच बदलौं’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संघीयता संस्थागत गर्न सोच बदलौं’

घनश्याम गौतम

रूपन्देही — संघीयताको संस्थागत विकासका लागि एकीकृत राज्य सञ्चालनको सोच र दृष्टिकोण बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा शनिबार भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ विषयक कार्यक्रमको ‘संघीयता संस्थागत गर्ने समय’ सत्रमा बोल्ने अधिकांश वक्ताले संघीयताको पाँच वर्ष पूरा हुँदा पनि प्रदेशको औचित्य पुष्टि हुन नसकेको बताएका हुन् ।

कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रदेशको महत्त्व दर्शाउन र संस्थागत विकासका लागि राजनीतिक नेतृत्वमा भूगोलप्रतिको दृष्टिकोण प्रमुख समस्या रहेको उनीहरूको तर्क थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले संघीयताको विषयमा अहिले हुने चर्चा हल्का भएको बताए । संघीयताको नयाँ आयाम नै प्रदेश भएको उल्लेख गर्दै उनले २०७४ मा प्रदेश सरकार बन्दा शासन भए पनि आसन नभएको बताए । ‘हामी सरकारमा जाँदा शासन थियो तर आसन थिएन,’ उनले भने, ‘कर्मचारी, कानुन र भवनबिना सुरु भएको प्रदेश सरकार अहिले ७२ वटा कानुन निर्माण गर्दै संस्थागत विकासमा अघि बढेको छ । नाम राखिएको छ, स्थायी राजधानी टुंगो लागेर निर्माणाधीन छ ।’

अहिले संघीयताको विषयमा हुने टिप्पणी हल्का भएको उनको तर्क थियो । ‘कतिपय व्यक्तिका सोचले संघीयता संस्थागत गर्न अप्ठ्यारो पारेको छ,’ उनले भने, ‘तर पनि संघीयता कार्यान्वयन र संस्थागत विकासका लागि संविधानमा स्पष्ट किटान गरिएका प्रावधान र अनुसूचीअनुसार अघि बढ्नुको विकल्प छैन ।’ मुख्यमन्त्री गिरीले कोभिडकै बेला पनि प्रदेशको विकास खर्च बढी भएको र चुनावका कारण अहिलेसम्म पुँजीगत खर्च कम भए पनि अबका ६ महिनामा त्यो वृद्धि हुने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयता संस्थागत गर्नका लागि कर्मचारीको सोच र दृष्टिकोणले प्रभाव पार्ने बताए । उनले त्यसका लागि आफ्नै पालामा निजामती कर्मचारी विधेयक संसद्मा पेस हुने दाबी गरे । अहिलेको सरकार संघीयता कार्यान्वयनका विषयमा गम्भीर रहेको भन्दै उनले त्यसका लागि आवश्यक पर्ने हरेक कानुन निर्माणमा आफूले पहल गर्ने बताए । ‘म भारतीय मोदी होइन, नेपाली मोदी हुँ,’ उनले भने, ‘ढुक्क हुनुहोला, मेरै कार्यकालमा निजामती कर्मचारी विधेयक संसद्मा पेस हुन्छ ।’

कर्मचारीको पुरानो सोच र दृष्टिकोणले संघीयता संस्थागत गर्ने समय लम्बिएको भन्दै उनले त्यो दृष्टिकोण बदल्न समय लागेको बताए । ‘दृष्टिकोण एकैसाथ बदलिँदैन,’ उनले भने, ‘अर्कोतर्फ सरकारमा गणतन्त्र स्वीकार नगर्ने दलहरू पनि छन् ।’ यी सबै समस्या र अप्ठ्यारा चिर्दै संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका विपक्षी दलका नेता कांग्रेसका डिल्लीबहादुर चौधरीले अहिलेसम्मका कुनै पनि सरकार संघीयताप्रति बफादार हुन नसक्दा संघीयता संस्थागत गर्ने समय लम्बिँदै गएको बताए । उनले पनि संघीयता संस्थागत गर्न सोचमै परिवर्तन ल्याउन जरुरी रहेको बताए । धेरैलाई संघीयता आवश्यकताले भन्दा घिसारेर ल्याएको हो भन्ने लाग्दा पनि संस्थागत हुन नसकेको उनको भनाइ थियो । ‘त्यसैले यसको संस्थागत विकासका लागि स्रोतको बाँडफाँट र नीति आयोगको सोच बदल्नुपर्छ, प्रदेश सरकारहरू संघीय सरकारलाई दबाब दिन सक्ने गरी अघि बढ्नुपर्छ,’ उनले भने, ‘अहिले प्रदेश नेता र कर्मचारीको डम्पिङ साइट बनेको छ, त्यो अन्त्य हुनुपर्छ । त्यसका लागि दलहरूले सामूहिक रूपमा संघीय सरकारलाई प्रदेशका कानुन निर्माणमा दबाब दिन सक्नुपर्छ ।’

गाउँपालिका महासंघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेले तीन तहका सरकारको अक्षरशः पालना नहुँदा संघीयता संस्थागत गर्ने समय लम्बिँदै गएको बताइन् । उनले कतिपय मूल कानुन नबनेको र राज्य संरचनाप्रतिको सोच र मानसिकताले पनि अप्ठ्यारो पारेको बताइन् । ‘मूल कानुन निर्माणमा सबै संविधानअनुसार इमानदार भएर अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘संघीय सरकार र मन्त्रीले बजेट विनियोजन गर्दा देखाऊने सोच र टुत्रे योजनाको दृष्टिकोण पनि बदल्नुपर्छ ।’

राजनीतिक, प्रशासनिक र वित्तीय संघीयता एकैसाथ कार्यान्वयन भएमा मात्र प्रदेशको विकास हुने र त्यसका लागि तीन तहको सरकारले आ–आफ्नो दायराभित्र रहेर काम गर्न सके संघीयता संस्थागत हुने उनको तर्क थियो ।

प्रकाशित : माघ २२, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रदेशसभा स्थापना दिवस मनाइयो

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशले विविध कार्यक्रम गर्दै शनिबार छैटौं स्थापना दिवस मनाएको छ । दाङको देउखुरीमा विभिन्न झाँकी र र्‍यालीसहित प्रदेशको स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले संविधानको पूर्ण कार्यान्वयन गर्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने जिम्मेवारी राजनीतिक दलहरुको रहेको बताएका छन् । संविधान अनुसार प्रदेश संघीय सरकारको इकाइ नभएको उनको भन्दै यसलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।

‘संविधानमा कतै उल्लेख छैन संघीय सरकारको इकाइ प्रदेश हो भनेर, हामी यो भ्रमबाट मुक्त हुनुपर्छ,’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन संविधान पूर्ण कार्यान्वयन हुनुपर्छ ।’ त्यसले मात्र संघीयता संस्थागत हुन सक्ने उनले बताए । संविधानमा उल्लिखित तीन तहका सरकारका साझा अधिकारको सूचीलाई कार्यान्वयन गर्न साझा कार्यक्रम बनाउन पनि उनले संघीय सरकारको ध्यानाकर्षण गराए ।

लुम्बिनी प्रदेशमा २०७४ माघ २१ गते पहिलो बैठक बसेको थियो । त्यसैलाई आधार बनाएर प्रदेशसभा सचिवालयले हरेक वर्ष माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।

कार्यक्रममा मुख्यमन्त्री लिला गिरी, प्रमुख प्रतिपक्ष दलका नेता डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खाँण केसीले सम्बोधन गर्दै अबको पाँच वर्ष जनताको हित हुनेगरी कानुन निर्माण र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा प्रदेशको अस्थायी राजधानी पहिलो प्रदेशसभा संचालन र व्यवस्थापनमा सहयोग गर्ने बुटवल उद्योग बाणिज्य संघ, नेपाल मानव सेवा आश्रम बुटवल, बुटवल महिला जेसिज र पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियन बुटवललाई कृतज्ञतासहित सम्मान गरिएको थियो । प्रदेश स्थापना दिवसमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताका विजेता र सहभागीलाई प्रमाणपत्र पनि प्रदान गरियो ।

प्रकाशित : माघ २१, २०७९ १९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×