रास्वपाको बैठक अनिर्णीत, आइतबार फेरि बस्ने


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालय नपाएको अवस्थामा सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा टुंगोमा पुग्न सकेन । शनिबार राति आकस्मिक रूपमा पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षबिहीन बनेको हो ।

बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए । 'बैंठकमा समसामयिक राजनीतिबारे कुरा गर्यौं । जुन किसिमको अहिलेको अवस्था छ राष्ट्रपतिको निर्वाचनदेखि उपनिर्वाचनसम्म छलफल भयो,' उनले भने, 'भोलि बैठक बस्ने भएको छ । साढे ११ बजे पुनः बैठक बस्ने र निर्णय गर्ने कुरा भएको छ ।'
बैठकमा पार्टी सभापति रवि लामिछानेले सत्तारुढ गठबन्धनमा भइरहेका कुराकानीबारे जानकारी दिएका थिए ।
रास्वपाले अहिलेको राजनीतिको आवरणमा गृह मन्त्रालयको विवाद जस्तो देखिए पनि अन्तर्यमा भने अर्कै खेल भइरहेको हो कि भन्ने आशंका गरेको छ । परियारले भने, 'यो गठबन्धनमा गृह मन्त्रालय र रास्वपामात्रै विवादको विषय होइन । अरु विषय पनि छन्, हामीलाई विषय बनाइएको हो कि भन्ने लागेको छ ।'
रास्वपाले चितवन क्षेत्र नम्बर २ मा चाँडो उपनिर्वाचन गर्नुपर्ने पनि माग गरेको छ । बैठकमा चितवन-२ मा छिटो निर्वाचन गराउन पहल लिनुपर्ने कुरा पनि भएको थियो ।
सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको आग्रहमा बिहीबार दुई दिन समय दिएको तर बैठकसम्म नबोलाएकोप्रति भने रास्वपाले असन्तुष्टि जनाएको छ ।
प्रकाशित : माघ २१, २०७९ २३:५०