रास्वपाको बैठक जारी, प्रधानमन्त्रीको नयाँ प्रस्तावमा छलफल


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । शनिबार राति ८:३० पछि बसेको बैठक अहिले पनि जारी छ ।

शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालसँग रास्वपाका सभापति रवि लामिछानेको भेटमा प्रधानमन्त्री दाहालले रास्वपालाई गृह मन्त्रालयको सट्टामा भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्ताव गरेपछि सभापति लामिछानेले पार्टीको बैठक डाकेका हुन् । उनीहरूको बैठक अहिले पनि बसुन्धारास्थित पार्टी कार्यालयमा बसिरहेको छ ।
प्रधानमन्त्रीको नयाँ प्रस्तावमाथि रास्वपाको यही बैठकले छलफल गरी एउटा निष्कर्षमा पुग्ने बताइएको छ । रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै आएको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
यसअघि बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले आफ्ना माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको अल्टिमेटम दिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भने यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रतिक्रिया दिएका थिए ।
प्रकाशित : माघ २१, २०७९ २१:३३