प्रधानमन्त्रीको नयाँ प्रस्तावमा छलफल गर्न रास्वपा बैठक- समाचार - कान्तिपुर समाचार

प्रधानमन्त्रीको नयाँ प्रस्तावमा छलफल गर्न रास्वपा बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । शनिबार राति ८:३० का लागि बोलाइएको बैठक केही बेरमा सुरु हुने रास्वपाका एक नेताले जानकारी दिए । पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग रास्वपाका सभापति रवि लामिछानेले भेटेपछि आकस्मिक रुपमा पार्टी बैठक डाकिएको हो ।

रास्वपाले गृह मन्त्रालय आफूलाई दिने/नदिने विषयमा दुई दिनभित्र टुंगो लगाउन बिहीबार प्रधानमन्त्रीसहित गठबन्धनका मुख्य घटकलाई अल्टिमेटम दिएको थियो ।

रास्वपाका एक सांसदका अनुसार प्रधानमन्त्री दाहालले रास्वपालाई गृह मन्त्रालयको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मा लगाउने प्रस्ताव गरेका छन् । सोही विषयमा निर्णय गर्नका लागि शनिबार राति बैठक बोलाइएको ती सांसदले बताए।

प्रकाशित : माघ २१, २०७९ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्

‘अक्षर अक्षरमा देश’लाई लेखक कृति पुरस्कार

कान्तिपुर संवाददाता

पोखरा — साहित्यकार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ यस वर्षको लेखक कृति पुरस्कारबाट पुरस्कृत भएको छ ।

नेपाली लेखक संघ, कास्कीले शनिबार पोखरामा समीपलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । संघले साहित्यकार प्राध्यापक डा. भूपति ढकाल ‘कमल’ लाई सम्मान समेत गरेको छ ।

पुरस्कार अर्पण तथा स्रष्टा सम्मान समारोहमा संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले मुक्तकलाई हेपिहाल्नुपर्ने, मिचिहाल्नुपर्ने वा लेख्दैमा हिनताबोध गरिहाल्नुपर्ने विधाका रुपमा लिन नहुने बताए । उनले संघले २० लाख रुपैयाँको अक्षयकोष बनाएर राष्ट्रिय लेखक संघ पुरस्कार प्रदान गर्ने तयारीमा रहेको सुनाए । वैशाख १६ लाई लेखक दिवसका रुपमा मनाउन संघले पहल गरिरहेको जानकारी उनले दिए ।

पुरस्कृत स्रष्टा दीपक समीपले मुक्तक विधा पुरस्कृत भएकोमा खुसी व्यक्त गरे । सम्मानित स्रष्टा ढकालले लेखकले सधैं सत्तालाई खबरदारी गर्नुपर्ने विचार राखे । संघका गण्डकी प्रदेश अध्यक्ष एवं कृति छनोट समितिका संयोजक ईश्वरमणि अधिकारीले पुरस्कृत तथा सम्मानित स्रष्टाको व्यक्तित्वको चर्चा गरे । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर साहित्यकर्म गरिरहेका स्रष्टालाई हरेक वर्ष पुरस्कृत गर्ने नेपाली लेखक संघ, कास्कीका अध्यक्ष सञ्जीव पौडेलले बताए ।

प्रकाशित : माघ २१, २०७९ १९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×