ब्याजदर घट्दो क्रममा छ, केही महिनामै ऋणीले त्यसको अनुभव गर्छन् : गभर्नर- समाचार - कान्तिपुर समाचार

ब्याजदर घट्दो क्रममा छ, केही महिनामै ऋणीले त्यसको अनुभव गर्छन् : गभर्नर

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्जा र निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको र केही महिनामै ग्राहकले त्यसको अनुभव गर्न पाउने राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको तेस्रो सत्र 'अर्थतन्त्रका अवरोध' विषयक अन्तरक्रियामा शनिबार गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

अर्थतन्त्रका बाह्य सूचकहरुका सुधार भएको, तरलताको अवस्थामा सुधार भएको, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकहरूको कर्जा निक्षेपबीचको अन्तर (स्प्रेड) घटाएर ४ प्रतिशतमा झरेकोलगायत कारण अहिले ब्याजदर घट्दो दरमा रहेको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा स्थिर ब्याजदरको लिने कि परिवर्तनशील ब्याजदरको भन्ने छनौटको अवसर भए पनि ग्राहकले त्यो नगरिदिँदा बैंकले धेरै ब्याजदर बढाए भन्ने गुनासो आउने गरेको उनले बताए । ‘ग्राहकसँग छनौटको पूर्ण अवसर छ । तर, उनीहरूले त्यो विचार नगरी एक शीर्षकमा लिएको कर्जा अर्को क्षेत्रमा लगानी गरिरहेका छन्,’ उनले भने, ‘ग्राहकका यस्ता गतिविधिले समस्या निम्त्याएको हो । यो प्रवृति रोक्न राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको हो ।’

बैंकहरूभन्दा धेरै मुनाफा अरु क्षेत्रमा रहेकाले बैंकले नाफामात्र कमाउँछन् भनेर सामान्यीकरण गर्न नहुने गभर्नर अधिकारीले बताए । ‘बैंकहरूले नाफामा मात्र ध्यान नदिउन भन्नकै लागि राष्ट्र बैंकले स्प्रेडलगायतको व्यवस्था गरेको छ,’ उनले भने, ‘यद्यपि लगानीका हिसाबले बैंकहरूको प्रतिफल घट्दो क्रममा छ ।’

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवामा समस्या भए सिधै बैंक व्यवस्थापन र राष्ट्र बैंकको गुनासो सुनुवाइ एकाइमा उजुरी गर्न पनि उनले ग्राहकलाई आग्रह गरे ।

प्रकाशित : माघ २१, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्

'७ प्रतिशत हुँदा लिएको ऋणको ब्याज १७ प्रतिशतसम्म तिरिरहेका छौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — आईटी स्टील स्टक्चर सोलुसनकी प्रबन्ध निर्देशक सोनाली गुरुङले बैंकको ब्याजदर ७ देखि ८ प्रतिशत हुँदा लिएको ऋणको ब्याज हाल  १६-१७ प्रतिशतसम्म तिरिरहेको बताइन् । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रममा ‘अर्थतन्त्रका अवरोध’ विषयमाथि बोल्दै उनले बैंकको ब्याजदर बढ्दा सुरु गरिएको प्रोजेक्टहरु फेलिएर भइरहेको बताइन् ।

सरकारको यस्तो नीतिले इमर्जिङ व्यवसायका लागि बाच्नै गाह्रो भएको उनले जानकारी दिइन् । ‘उद्योगले धेरै रोजगारीहरु सिर्जना गर्छ, देशको अर्थतन्त्रलाई दह्रो बनाउन सबैभन्दा ठूलो योगदान उद्योगले दिन्छ,’ उनले भनिन्, ‘तर हामीले उद्योगका मेसिन ल्याउँदा ३३ प्रतिशत भन्सार दर तिर्नुपर्छ, चीन र भारतबाट कच्चा पदार्थ ल्याउँदा २० प्रतिशत भन्सार तिर्नुपर्छ ।’

२०७२ सालको भूकम्पमा झण्डै २२ हजार मान्छेहरु आरसीसी भवनका कारण गम्भिर घाइते भएका भन्दै उनले भूकम्पपछि लाइट घरका अवधारणाहरु आएको बताइन् । हामीले यस्ता प्राकृतिक विपत्ती हुँदा पूर्वाधारबाट भौतिक र मानविय क्षति कम गर्नकै लागि प्रविधि मार्फत लाइट घरहरु बनाउन थालिएको उनले जानकारी दिइन् ।

‘२०७२ पछि लाइट घरका कन्सेप्टहरु धेरै आएका थिए । प्रविधि मार्फत ठूलाठूला घरहरु बनाउन सक्छौं,’ उनले भनिन्, ‘पाँच तलासम्मको घर बनाउन सक्छौं । एमएस स्टील राखेर १० तलासममको बनाउन सक्छौं । यस्ता घरले मानविय क्षतिसँगै स्ट्रक्चरल क्षति पनि कम हुन्छ ।’

प्रकाशित : माघ २१, २०७९ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×