हाम्रा विकासका प्रयत्न परम्परागत छन् : विष्ट - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रा विकासका प्रयत्न परम्परागत छन् : विष्ट 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले स्थानीय तह, प्रदेश र संघीय गरी तीन तहका सरकार हुँदा पनि विकासका प्रयत्न परम्परागत रहेको बताएका छन् । उनले विकासका मोडल बनाएर, क्षमता आकलन गरेर अघि बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताएका हुन् । 

कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित 'लुम्बिनीको सामर्थ्य' कार्यक्रममा 'पालिका र पूर्वाधार' विषयमाथि बोल्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका विष्टले विकासको अभ्यास परिवर्तन गर्नुपर्ने बताए । 'संवैधानिक र कानुनी सीमाभित्र रही मौलिकतामा आधारित भएर विकास कसरी अगाडि लैजाने भन्ने सन्दर्भमा समस्या देखिन्छन् । हाम्रा विकासका प्रयत्न परम्परामा आधारित छन् । कुनै पनि पालिकाले आवधिक योजना निरमाण गर्ने र व्यवस्थागित गर्न सकिरहेको छैनन्,' उनले भने, 'भौतिक पूर्वाधार होस् वा सामाजिक पूर्वाधारको सन्दर्भमा होस् हामीले सूचकांकमा आधारित भएर योजना तर्जुमा गर्ने प्रयत्नलाई केन्द्रित गर्न सकेनौं । त्यसो गर्न सकेनौं भने फेरि पनि हाम्रा विकासका प्रयत्न प्रभावकारी हुन सक्दैनन् । केवल चल्ते चलाते परम्परागत विकासमा अगाडि बढ्छौं ।'

भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार निर्माणमा स्थानीय सरकारहरू कसरी अगाडि बढ्ने भन्ने यकिन हुनुपर्ने विष्टको भनाइ थियो । भौतिक पूर्वाधारभित्र पर्ने सडक, बिजुली, सिंचाइ, पीउने पानी, विमानस्थल, खेलमैदान र सामाजिक पूर्वाधारभित्र पर्ने शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायत सन्दर्भमा सरकार कसरी अगाडि बढिरहेका छन् भनेर हेर्नुपर्ने उनको भनाइ थियो । 'स्थानीय तहले पूर्वाधार निर्माणका लागि निश्चित विधि पालना गर्नुपर्छ, त्यसमा अहिले पनि केही समस्या देखिन्छन्,' उनले भने ।

विकास योजना निर्माण गर्दा भौगोलिक अवस्था, जनसंख्याको चाप, गरिबीको अवस्था, विकासको आवश्यकतालाई आधार मान्नुपर्ने विष्टको भनाइ थियो । विकासका लागि आवधिक योजना तयार गर्ने, मध्यावधि मूल्यांकन, योजना बैंक, सूचकांकमा आधारित अनुदान प्रणाली, सूचकांकमा आधारित भएर बजेट विनियोजन र कार्यान्वयन गर्ने पक्षलाई पालना नगर्दा विकास निर्माणमा समस्या हुने उनले बताए । यी पक्षमा स्थानीय तहले ध्यान दिएर आफूले पाएको बजेट ठिक ढंगले ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

संघ र प्रदेश, संघ, प्रदेश र स्थानीय तहमा अस्वस्त प्रतिस्पर्धा हुन नहुने पनि विष्टको भनाइ थियो । संघीयतालाई लिएर संविधानले परिकल्पना गरेको व्यवस्था कार्यान्वयनमा जानुपर्ने उनले सुझाए । एउटै योजनामा तीनवटै तह लाग्न नहुने पनि उनको भनाइ थियो ।

प्रकाशित : माघ २१, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्

निर्माण व्यवसायीका कारण पूर्वाधार निर्माणमा ढिलाइ : मेयर पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्माण व्यवसायीका कारण पूर्वाधार निर्माणमा ढिलासुस्ती भएको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको लुम्बिनीको सामर्थ्य कार्यक्रमको दोश्रो सत्र 'पालिका र पूर्वाधार' कार्यक्रममा बोल्दै मेयर पाण्डेले ठेक्का भइसकेका आयोजनामा पनि निर्माण व्यवसायीकै कारण पूरा हुन नसकेको बताए ।

‘सुनौली–चिडियाखोला सडक ६ लेनको बनाउन थालेको भएपनि निर्माण व्यवसायीका कारण निर्माणमा ढिलासुस्ती भएको छ, बुटवल–नारायणढ सडकको अवस्था उस्तै छ, असारमा सकिनुपर्ने काम अहिलेसम्म अधुरै छ,’ उनले भने, ‘बुटवलमा बनिरहका दुई वटा केबलकारको काम समयमै सकिने देखिएको छ ।’

केबलकारले भारतका धेरै क्षेत्रका पर्यटकलाई चुरे पहाडसँग जोड्ने उनको बुझाइ छ । दुई वटा केबलकार यो वर्ष पूरा हुने उनले सुनाए । देशले गर्भ गर्ने मोतिपुर औद्योगिक क्षेत्रको काम भने अझै हुन सकेको छैन । ‘८१३ बिघाभित्र मोतिपुर औद्योगिक क्षेत्र बन्ने भन्ने थियो, स्थानीयहरुको २५० बिघा जग्गा परेकाकारण बुटवल उपमहानगरपालिका र बालाजु औद्योगिक क्षेत्र मिलेर यसको पुन: नापी गरिएको छ,’ उनले भने, ‘यो टुंगिने क्रममा छ , ५ सय बिघाको सेरोफेरोमा नयाँ औद्योगिक क्षेत्र बनाउने काम अगाडि बढाउँदै छौं ।’

त्यस्तै बुटवलबाट हिन्दुधार्मिक पर्यटन यात्रा मुक्तिनाथसम्म र बुद्ध धार्मिक पर्यटन केरला नाकादेखि लुम्बिनीसम्म गर्न सकिने उनको भनाइ छ । ‘सुनौलीदेखि केरला नाकासम्म एउटै सडक हुँदै बुटवलको नाकाबाट दुई वटा हिन्दु र बुद्धिस्टको धार्मिक यात्रा गर्न सकिने छ,’ उनले भने, ‘भारत र चीन जोड्ने व्यपारि नाकालाई समृद्ध बुटवलसँग जोडेका छौं ।’ अन्तराष्ट्रिय विमानस्थल र सिक्सलेन सडक यसका आधार हुन् । उनका अनुसार बुटवल उत्तर–दक्षिणको व्यापारिक नाका पनि हो । त्यस्तै पूर्वपश्चिमको संगमस्थल रहेकाले बुटवलको महत्त्वलाई फरक ढंगले हेर्नु पर्ने उनको सुझाव छ ।

विकास निर्माणमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा एउटा बुटवल एउटा मोडल रहेको उनको दाबी छ । ‘अहिले पनि धेरै जस्तो निर्माणमा ६०–४० मा छौं, जन ताको सहभागिता ६० प्रतिशत छ, स्थानीय तहको ४० प्रतिशत छ,’ उनले भने, ‘हाम्रो बजेटको सिलिङ हेर्नुस् र बुटवलको निर्माण हेर्नुस्, बजेटको सिलिङ भन्दा तीन दोब्बर बढी यहाँ विकास निर्माण भइरहेको छ ।’

प्रकाशित : माघ २१, २०७९ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×