१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राप्रपाले घुमाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मान्यो : मन्त्री मोदी

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले भोटको राजनीतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षतालगायत परिवर्तनको विरोध गरिरहेको तर स्वीकार गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन् । 

राप्रपाले घुमाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मान्यो : मन्त्री मोदी

कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित 'लुम्बिनीको सामर्थ्य' कार्यक्रममा 'संघीयता संस्थागत गर्ने समय' विषयमाथिको बहसका क्रममा मन्त्रिपरिषद्‌मा संघीयताको औचित्यमाथि प्रश्न गर्नेहरू छन्, राजतन्त्रको पक्षधर नै सत्ता सहयात्री रहेको अवस्थामा संघीयता बलियो हुन्छ कि कमजोर भन्ने प्रश्न गरिएको थियो । जवाफमा मन्त्री मोदीले संघीयताको विषयमा हुने बहसबाट सरकार नआत्तिएको बताए । उनले संविधान निर्माणका क्रममा लामो बहसबाट मुलुक संघीयतामा जाने निर्णय भएको बताए ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको आफ्ना कुरा राख्न पाउनुभएको भन्दै मन्त्री मोदीले नेपालमा त्यसको अभ्यास भइरहेको धारणा राखे ।

मुलुक अब पश्चगमनमा नजाने र संघीयता कसैले सित्तैमा दिएर आएको व्यवस्था नभएको मन्त्री मोदीको भनाइ थियो । 'गणतन्त्र, संघीयताको अहिले पनि केहीले विरोध गरिरहेका छन्, त्यो अन्यथा लाग्दैन । तर यो मान्नुपर्छ । एकैपटक सबै कुरामा सहमत हुँदैनन् । उहाँहरू पहिले सरकारमा जानुहुँदैन भन्नुहुन्थ्यो । संसद्‌मा एक जना हुनुहुन्थ्यो, अहिले धेरै हुनुभएको छ । हामी यो संविधान मान्दैनौं,फलाना गर्छौं भन्नुहुन्थ्यो । सरकारमा जाँदैनौं भन्नुहुन्थ्यो, अहिले सरकारमा पनि जानुभयो,' उनले भने, 'घुमाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि मान्नुभयो । यी सबै कुरा मानिसकेपछि नाराको निम्ती नारा दिएर, टीभीमा बोलेर, जनतालाई भोटका निम्ति आकर्षण गरेर फेरि पनि पुराना कुरा आउँछ भनेर हुँदैन । पश्चगमनतिर देश जाँदैन । ढुक्क हुनुस्, परिवर्तन अगाडि बढ्ने कुरा हो । पश्चगमतनिर फर्किन्छ जस्तो लाग्दैन ।'

संघीयता कसैलाई मन लागेर ल्याएको व्यवस्था नभएको मन्त्री मोदीको भनाइ थियो । गणतन्त्र दुई-चार जना बोलेर दिइहालेको व्यवस्था नभएको र त्यसका लागि ठूलो त्याग र बलिदान भएको उनले बताए । माओवादीले गणतन्त्रको मुद्दा उठान गर्दा त्यस्तो पनि हुन्छ र ? भनेर प्रश्न आएका तर त्यो व्यवस्था आइछाडेको उनको भनाइ छ ।

अहिले संघीयतामाथि प्रश्न गर्नेहरूको उद्देश्य भविष्यमा समानुपातिक, समावेशी व्यवस्था खारेज गर्नुरहेको मन्त्री मोदीको भनाइ थियो । त्यसैले संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी व्यवस्था अन्त्य हुने सम्भावना नरहेको बरु यसको थप रुपान्तरण आवश्यक रहेको उनले बताए ।

सरकारमा सहभागी राप्रपाका मन्त्री र सांसदहरूले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामाथि प्रश्न गर्दै आएका थिए । जसमाथि प्रधानमन्त्री पुष्पकमल दाहालले रोक लाग्नुपर्ने भन्दै संसदको रोस्ट्रमबाटै अभिव्यक्ति दिएका थिए ।

प्रकाशित : माघ २१, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?