राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा साझा उम्मेदवारीबारे छलफल- समाचार - कान्तिपुर समाचार
सिंहदरबारमा विपक्षी मोर्चाको बैठक

राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा साझा उम्मेदवारीबारे छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । विपक्षी मोर्चा बनाएर नेतृत्वमा रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा विपक्षी दलहरूसँग परामर्श गरिरहेको छ ।

त्यहीअनुसार सभापति देउवाले शनिबार विहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र लोसपाका अध्यक्ष ठाकुरसँग छलफल गरेका हुन् ।

राष्ट्रियसभामा उपाध्यक्षको निर्वाचन आगामी सोमबार हुँदैछ भने फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका छ । कांग्रेसले विपक्षमा रहेका दलहरूलाई एक ठाउँमा लिएर विपक्षी मोर्चा बनाउन प्रयास गर्दै आएको छ ।

भेटपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको उपाध्यक्ष र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा छलफल भएको बताए । ‘विपक्षमा रहेका दलहरूबीच छलफल गरेर अघि बढ्ने कुरा भइरहेको छ । अहिले राष्ट्रियसभाको उपाध्यक्ष र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा छलफल भयो,’ नेपालले भने, ‘सबै परिस्थिति कस्तो हुन्छ ? त्यसको आधारमा फेरि छलफल गरेर अघि बढ्ने सहमति भएको छ ।’

उनले राष्ट्रियसभाको उपाध्यक्षमा आफूहरूको दाबी नरहेको समेत बताए । कांग्रेसले यसअघि नै राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । देउवाले आफ्नो पक्षमा बहुमत जुटाउन दलहरूसँग छलफल गरिरहेका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विपक्षी दलका नेताहरूबीच समसामयिक राजनीतिक विषयहरूलाई लिएर भेटवार्ता भएको बताए । ‘कांग्रेसले प्रतिनिधिसभामा रहेका विपक्षी दलका नेताहरूको बैठक बोलाएको हो । हामीले मुलतः राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनको बारे छलफल गर्‍यौँ, आइतबार मनोनयन गर्ने कार्यतालिका छ,’ उनले भने, ‘विपक्षी दलहरूको तर्फबाट हामीले उम्मेदवारी दिने गरी छलफल गरिरहेका छौँ ।’

प्रकाशित : माघ २१, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा सातौँ थारु साहित्य सम्मेलन सुरु

रुपा गहतराज

नेपालगन्ज — भाषा जोगाउनका लागि थारु लेखकलाई उत्साही बनाउने उद्देश्यले ७औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा सुरु भएको छ ।  शुक्रबार फत्तेपुरस्थित सहिदपार्कमा सञ्चालित उक्त सम्मेलनमा प्रमुख अतिथि एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले थारु समुदाय अहिले पनि विभेदमा परिरहेको बताए । थारु आन्दोलनका घटनामा परेका थारु नेताहरूलाई सरकारले विभेद गर्दै पक्राउ गर्नु दुःखद भएको उनको भनाइ छ ।

थारु बाहूल्यता रहेको क्षेत्रमा थारु संग्रहालय अनिवार्य स्थापना गर्न आवश्यक रहेको र त्यसका लागि बजेट छुट्याउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । थारु साहित्यमा कलम चलाउनेका लागि राम्रो कार्यक्रम ल्याउन आफूले पहल गर्ने मन्त्री मोदीले बताए ।

सम्मेलन उद्घाटन सत्रमा लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक, वरिष्ठ साहित्यकार, डा. गोविन्द आचार्य, कृष्णराज सर्वाहारी, अन्य साहित्यकारहरू, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : माघ २१, २०७९ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×