लुम्बिनीको सामर्थ्य

प्रदेशमा राजनीतिक स्थिरता भए मुलुकको अर्थतन्त्र सुध्रिन्छ - कैलाश सिरोहिया

काठमाडौँ — कान्तिपुर पब्लिकेसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले प्रदेशमा राजनीतिक स्थिरता भए मुलुकको अर्थतन्त्र सुध्रिने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर लुम्बिनीको सामर्थ्य' विषयक अर्थ सामाजिक बहसलाई शनिबार सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

प्रदेशमा राजनीतिक स्थिरता भए मुलुकको अर्थतन्त्र सुध्रिन्छ - कैलाश सिरोहिया

'अहिले अर्थतन्त्रका प्रमुख समस्याहरु— पुँजीको अभाव, उच्च ब्याजदर, खुला सिमानाको दुरुपयोग भइरहेको छ, अनौपचारिक व्यापारको मार र समग्रमा भन्नुपर्दा असल उद्यम व्यापारका उल्झन हुन्' उनले भने ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले गरेको सम्बोधनको पूर्ण पाठ :

शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यहाँहरू सबैलाई स्वागत छ !‘लुम्बिनीको सामर्थ्य’ अर्थात्लुम्बिनी प्रदेशको अर्थ–सामाजिक शक्ति, सम्भावना, समस्या र त्यसका समाधानबारे छलफल–विमर्श गर्न आयोजित यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म कान्तिपुर मिडिया ग्रुपका तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्दछु । हाम्रो निमन्त्रणा स्वीकार गरेर यस कार्यक्रममा उपस्थित भइदिनुभएका नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यू, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीज्यू, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्यू, यस कार्यक्रमका मुख्य वक्ता तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैय अवधेशकुमार त्रिपाठी ज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दै हार्दिक स्वागत गर्दछु ।

कार्यक्रमका विभिन्न प्यानलका वक्ता तथा प्रस्तोता, हाम्रो निमन्त्रणा स्वीकार गरेर यहाँ आउनुभएका सम्पूर्ण महानुभाव, कान्तिपुर टेलिभिजन र इकान्तिपुर डटकमबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरेर बसिरहनुभएका दर्शक महानुभावहरूलाई पनि म हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्दछु ।

कान्तिपुर मिडिया गु्रपले आफ्ना प्रकाशन र प्रसारण माध्यमबाट समाचार र विचार एकतर्फी रूपमा मात्रै प्रवाह नगरी तपाईंहरू सबैसँग प्रत्यक्ष छलफल पनि गरौं भनेर पछिल्लो समय यस्ता कार्यक्रम आयोजना गरिरहेको छ । यस्ता कार्यक्रमलाई हामीले संघमा मात्रै सीमित नराखेर पछिल्लो समय प्रादेशिक तहमा समेत आयोजना गरिरहेका छौं । यसअघि जनकपुरमा ‘मधेश मन्थन’ र विराटनगरमा ‘उज्यालो पूर्व’माथि विचार विमर्श गरी ती प्रदेशका सामर्थ्य, सम्भावना, समस्या र समाधानबारे गहन छलफल गरेका छौं । त्यसले सम्बन्धित क्षेत्रमा एक हदसम्म सकरात्मक प्रभाव पार्न सकेकोमा हामी खुशी पनि छौं । ती कार्यक्रमले खासगरी संघ, प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्र तथा नागरिकका मुद्दाहरु जोड्ने, अनि वर्तमान र भविष्यका सरोकारका विषयहरु पहिल्याउने काम गरेको छ ।

सम्बन्धित मुद्दाहरूका विषयमा सघन विमर्श होस् र त्यसले सम्बन्धित मुद्दाका समस्या समाधानका लागि दिशानिर्देश पनि गरोस्भन्ने हाम्रो उद्देश्य हो । यसलाई थप विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेशका सार्वजनिक सरोकारका मुद्दाहरूमाथि सरोकारवाला पक्ष सबैलाई एकै ठाउँ राखेर आयोजना गरिएको सर्वपक्षीय बहस कार्यक्रम हो– ‘लुम्बिनीको सामर्थ्य’ ।

लुम्बिनीको सामर्थ्य विश्वको सांस्कृतिक मानचित्रको एउटा केन्द्रविन्दु पनि हो । शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वसम्पदा सूचीमा समेटिएसँगै यसले नेपालको पर्यटनको जग बसाल्न महत्त्ववपूर्ण भूमिका खेलेको छ । पर्यटनको जगमा यहाँको उत्पादन, सेवा उद्योग, व्यापार, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्र विस्तारको गति जोडिएको छ । त्यसैले समग्र देशकै अर्थतन्त्रमा लुम्बिनी प्रदेशले तेस्रो स्थानका साथ महत्त्ववपूर्ण योगदान गरिरहेको छ । तथापि कोभिडकाल पछि विश्वभरी आएको मन्दीको असर यहां पनि परिरहेकोबारे हामी जानकार छौं । त्यसलाई कसरी तोड्न सकिन्छ भन्नेबारे पनि यहां पनि हामी छलफल गर्नेछौं ।

तीव्र गतिमा विकास भइरहेको लुम्बिनी प्रदेशलाई केन्द्रीय सरकारका अन्तरसम्बन्धित निकायहरूको सहयोग र प्रदेशमा समेत राजनीतिक स्थिरता भइदिए मुलुकको अर्थतन्त्रमा थप योगदान गर्न सक्छ भन्ने मलाई लागेको छ । किनभने यस प्रदेशको नजिकै अर्थात्छिमेकी मुलुक भारतको उत्तर प्रदेश र बिहार जस्तो विशाल बजार छ । त्यसकारण यस प्रदेश थप गतिशील हुँदै मुलुककै समृद्धिको संवाहक बन्ने अवसर आएको छ । तर त्यसको उपयोग गर्ने समुदाय तपाईहरू नै हो । त्यसका लागि संघ, प्रदेश, स्थानीय तहदेखि निजी क्षेत्र, विज्ञ समुदाय तथा आम नागरिकको के–कस्तो भूमिका तथा योगदान हुनुपर्छ भन्ने विषयको पहिचान गर्न हामी माध्यम बनेर यहाँ उपस्थित भएका हौं ।

यस कार्यक्रममा यहाँका प्रमुख चार वटा मुद्दाहरु माथि केन्द्रित रहेर छलफल गर्दैछौं । पहिलो सत्रका रूपमा संघीयता संस्थागत गर्ने उपायहरुमाथि विमर्श हुनेछ । किन प्रदेशका मुख्यमन्त्री चयन भएको लामो समय बित्दा पनि मन्त्रिपरिषद्गठन हुन सक्दैन ? प्रदेश सरकार बनेपछि पनि त्यो किन फेरबदल भइरहन्छ ? विकास निर्माणले किन गति समात्न सकिरहेको छैन ? के अब संघीयता संस्थागत गर्न ढिलो भएन र ? पहिलो सत्रमा यस्ता विषयहरु माथि छलफल हुनेछ ।

राजनीति स्थायित्वले दिने एउटा मुख्य परिणाम भनेकै विकास पूर्वाधारकोनिर्माण हो। त्यसकारण राजनीतिक स्थायित्वसँगै विकास निर्माणले प्राथमिकता पाउनुपर्छ भनेर हामीले आजको दोस्रो सत्रमा ‘पालिका र पूर्वाधार’ विषयमाथि छलफल गर्दैछौं । यहाँका ठूला नगरदेखि गाउँगाउँमा विकास निर्माणका काम के–कसरी गर्ने भन्ने विषयको पहिचान यस सत्रले गर्नेछ ।

यस प्रदेशका लागि अर्को महत्त्ववपूर्ण विषय भनेको अर्थतन्त्रको विकास हो । अहिले अर्थतन्त्रका प्रमुख समस्याहरु— पुँजीको अभाव, उच्च ब्याजदर, खुला सिमानाको दुरुपयोग गर्दै भइरहेको अनौपचारिक व्यापारको मार र समग्रमा

भन्नुपर्दा असल उद्यम व्यापारका उल्झन हुन्। यिनै मुद्दालाई केन्द्रित गरेर तेस्रो सत्रमा ‘अर्थतन्त्रका अवरोध’माथि छलफल गर्नेछौं । जहाँ नेपाल राष्ट्र बैंकका गभर्नरदेखि यहाँका उद्योगी व्यवसायी र विषयविज्ञबीच छलफल हुनेछ । यस सत्रले यहाँका स्रोत–साधनको पहिचान, समस्या, सम्भावना र व्यवस्थित गर्ने उपायको खोजी गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने मुद्दा पहिल्याउनेछ ।

अन्तिम तथा चौथो सत्र लुम्बिनीको पर्यटनमाथि केन्द्रित हुनेछ । मैले भन्नै पर्दैन, पर्यटनको विकास भन्नेबित्तिकै यहाँ भर्खरै निर्माण सम्पन्न भएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’को व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय उडान के हुन्छ भन्ने सबैलाई थाहै छ । सरकारदेखि निजी क्षेत्रले यहाँ गरेको अर्बौं लगानीको प्रतिफल होस्या नागरिकको जनजीविकामा बदलाव ल्याउने यो विमानस्थलको प्रभावकारी व्यवस्थापन गर्ने जिम्मेवारीबाट कोही पनि उम्कन मिल्दैन । खासगरी नेपाल सरकारले छिमेकी मुलुक भारतसँग उचित कूटनीतिक पहल गरी यस अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटको बन्द बाटो खुला गर्न जरुरी छ । त्यसपछि मात्रै हाम्रो पर्यटनको उडान अन्तर्राष्ट्रिय रूपमा थप मजबुत हुनेछ । यसैलाई ध्यानमा राखेर हामीले अन्तर्राष्ट्रिय उडानदेखि गन्तव्यसम्मका विषयमाथि अन्तिम सत्रमा छलफल होस्भन्ने चाहेका छौं ।

मलाई लाग्छ, हाम्रा समग्र यी सत्र समस्याका विषयमा मात्रै सीमित हुने छैनन्, यिनले समस्या समाधानका उपायसमेत पहिल्याउने छन् । उपाय निकाल्नैपर्छ । किनभने छोटो अवधि अर्थात् तीन दशकमा मात्रै नेपालले ठुल्ठूला राजनीतिक परिवर्तन त गरिसकेको छ, तर अपेक्षित रूपमा आर्थिक विकास गर्न सकेको छैन । अब बेला आइसकेको छ— सबै जना जुट्ने र देशको विकासका निम्ति लागिपर्ने । त्यसका लागि हामी सबैको भूमिका उत्तिकै छ भन्ने धारणा राख्दै यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दै म यहांबाट

बिदा हुन चाहन्छु ।

धन्यवाद ।

प्रकाशित : माघ २१, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?