परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणवर्धनेबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणवर्धनेबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्धनेसँग शिष्टाचार भेट गरेकी छन् । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन काेलम्बाेमा गरेकी मन्त्री पौड्यालले शुक्रबार बेलुकी प्रधानमन्त्री  गुणवर्धनेसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा उनीहरूले दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गरेकाे परराष्ट्रमन्त्रीकाे सचिवालयले जनाएको छ ।

श्रीलंकाका प्रधानमन्त्री गुणबर्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेटवार्ता गरेकी छन् ।

शुक्रबारै उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी भएकी छन् । उनले शनिबार श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रकाशित : माघ २१, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

सवारी दुर्घटनामा राइनास नगरप्रमुखसहित ४ जना घाइते

आश गुरुङ

लमजुङ — लमजुङको राइनास नगरपालिकाको ग १ झ ४२३ नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाटमा दुर्घटना हुँदा नगरप्रमुखसहित ४ जना घाइते भएका छन् ।

काठमाडौंबाट लमजुङतर्फ आउने क्रममा शुक्रबार राति सवा ८ बजेतिर गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर नगरप्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नगरपालिका प्रमुख गुरुङका स्वकीय सचिव बालसिंह गुरुङ र चालक जीवन ओलिया घाइते भएका छन् ।

नगरपालिका उपप्रमुख पुष्पराज खनालका अनुसार दुर्घटनापछि ४ जनालाई उद्धार गरेर राति नै काठमाडौं ट्रमा सेन्टरमा लगिएको थियो । सामान्य उपचारपछि सबै अस्पतालबाट फिर्ता भएको उनले बताए ।

नगरपालिकाको कामका लागि काठमाडौं गएको नगरप्रमुखसहितको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो । अगाडिबाट आइरहेको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटनामा भएको बताइएको छ ।

प्रकाशित : माघ २१, २०७९ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×