गठबन्धन जोगाउने प्रमुख जिम्मेवारी प्रधानमन्त्रीको : एमाले- समाचार - कान्तिपुर समाचार

गठबन्धन जोगाउने प्रमुख जिम्मेवारी प्रधानमन्त्रीको : एमाले

मणि दाहाल

काठमाडौँ — गृह मन्त्रालयको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले लिँदै आएको अडानविपरीत एमाले मध्यमार्गी समाधान खोज्नुपर्ने पक्षमा देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबारसम्म गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने अल्टिमेटम दिएपछि प्रधानमन्त्रीले नै विवाद समाधानको पहल लिनुपर्ने एमालेको धारणा आएको हो । तर, अल्टिमेटपछि प्रधानमन्त्री दाहाल र रास्वपा सभापति रवि लामिछानेबीच वार्ता भएको छैन । 

गृह मन्त्रालयको विवाद मिलाएर गठबन्धन जोगाउने मुख्य जिम्मेवारी पनि प्रधानमन्त्रीको भएको एमालेको भनाइ छ । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला गएका कारण गठबन्धनबीच विवाद मिलाउने पहल शुक्रबार पनि भएन । पछिल्लो भेटमा ओलीले गठबन्धन जोगाउने मुख्य पहल प्रधानमन्त्रीकै भएको भन्ने सन्देश दाहाललाई पनि दिइसकेको एमालेका नेताहरूले बताएका छन् ।

रास्वपा सभापति लामिछाने गैरसांसदका रूपमा पुनः गृह मन्त्रालय फर्किन चाहन्छन् भने प्रधानमन्त्री दाहाल त्यसका लागि तयार छैनन् । गठबन्धन निर्माण हुँदा भएको सहमतिअनुसार रास्वपाले गृह मन्त्रालय पाउनुपर्ने तर्क गर्दै त्यसको कार्यान्वयन गर्न उसले शनिबारसम्मको अल्टिमेटम दिएको हो । प्रधानमन्त्री दाहाल भने राहदानी दुरुपयोगसम्बन्धी विषयमा उजुरी परेर छानबिनका क्रममा रहेकाले लामिछाने मात्रै नभएर गृह मन्त्रालयको जिम्मेवारी रास्वपालाई नै नदिने पक्षमा छन् । सर्वोच्च अदालतको पूर्ण पाठ नआउन्जेल जिम्मेवारी दिन नसकिने दाहालको भनाइ छ ।

‘गठबन्धनलाई दिगो बनाउने विषयमा सबै जिम्मेवार र परिपक्व बन्नुपर्छ । स्वाभाविक रूपमा प्रधानमन्त्रीज्यूले त्यसमा बढी जिम्मेवारी लिनुपर्छ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘जुनजुन दल मिलेर यो सहकार्य सहयात्रा प्रारम्भ भएको छ र त्यसको बलमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभएको छ । त्यसलाई जोगाउन पनि उहाँले बढी भूमिका खेल्नुपर्छ ।’ ज्ञवालीका अनुसार व्यक्तिका विषयमा प्रश्न उठेकाले त्यसमा पुनर्विचार गर्नुस् भनेर भन्न सकिने भए पनि कार्यविभाजनका हिसाबले गृह मन्त्रालय स्वतन्त्र पार्टीको हो । ‘स्वतन्त्र पार्टीलाई मन्त्रालय नदिने कुरा गर्नु पनि हुँदैन र त्यसले विश्वासको वातावरण पनि बन्दैन,’ उनले भने, ‘प्रधानमन्त्रीले यस विषयमा ध्यान दिनुहुन्छ भन्ने लाग्छ । यो विषय समाधान हुन्छ र गरिनुपर्छ ।’ बहुमतको सरकार नभएर विभिन्न दल मिलेर

सरकार बनेकाले उनीहरूभित्रको संवेदनशीलतालाई ध्यान पनि राख्नुपर्ने उनको भनाइ छ । ‘दलको संवेदनशीलता, सरोकार र आत्मसम्मान पनि हुन्छ, कमजोर बनाउने काम कसैले पनि गर्नु हुन्न,’ ज्ञवालीले भने, ‘व्यक्तिका बारेमा कुरा उठे पनि त्यसमा जोड नगर्दा हुन्छ । गृह मन्त्रालय स्वतन्त्र पार्टीको हकको कुरा हो ।’

एमालेका अर्का एक नेताले दाहालले गृह मन्त्रालयको बहाना बनाएर कांग्रेससित गठबन्धन बनाउन चाहेको आरोप लगाए । ‘डेढ महिना नपुग्दै सहमति तोडेर कांग्रेससित गठबन्धन गर्नु राजनीतिक इमानदारिता होइन,’ उनले भने, ‘कांग्रेसले सरकारलाई विश्वासको मत दियो भन्दैमा सरकार बन्ने सहमति र आधार बिर्सन हुँदैन ।’

सभापति लामिछानेबाहेक अन्य सांसदलाई गृह मन्त्रालयको जिम्मेवारी दिने पक्षमा एमाले रहेको छ । लामिछानेको सांसद पद खारेजपछि रास्वपाको १९ सिट भएको छ । मन्त्रालय बाँडफाँटमा ३ मन्त्री र एक राज्यमन्त्री उसको भागमा परेको छ ।

माओवादी सचिव लीलामणि पोखरेलले एउटा मन्त्रालयको विषयलाई लिएर गठबन्धन तोड्ने भन्ने विषय आए गलत हुने बताए । ‘गृह मन्त्रालय पाए गठबन्धन रहन्छ, नपाए रहँदैन भन्नु गलत हुन्छ,’ उनले भने, ‘सरकार निर्माण गर्ने बेला महत्त्वपूर्ण मन्त्रालय छाडेर माओवादीले त्याग गरेको छ । अहिले नागरिकताको विषयले रवि लामिछाने सांसद रहनुहुन्न, त्यसबेलाको अवस्था हेरेर उहाँ गृहमन्त्री हुनुभएको हो । अहिले राजनीतिक परिस्थिति फेरिइसक्यो ।’ गठबन्धन जोगाउन उच्चस्तरीय संयन्त्रमा शीर्ष नेताले पहल लिने उनको भनाइ छ ।

प्रकाशित : माघ २१, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

मलेसियामा घरेलु कामदार पनि !

होम कार्की

काठमाडौँ — नेपाल र मलेसियाबीचको श्रम सम्झौता परिमार्जन गरी आउँदो अक्टोबरमा नवीकरण गर्न उच्चस्तरीय सहमति भएको छ । मलेसियाले अब नवीकरण हुने श्रम सम्झौताभित्र घरेलु कामदारलाई समेत समेट्न चाहेको छ । शून्य लागत नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा दुई देशका मन्त्रीबीच छलफल भएको छ ।

मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा शुक्रबार काठमाडौंमा भएको बैठकमा श्रम सम्झौतालाई नवीकरण गर्ने सहमति भएको हो । श्रम सम्झौता परिमार्जनका लागि आवश्यक विषय संयुक्त प्राविधिक बैठकले टुंग्याउनेछ । दुवै देशका गृह, श्रम, परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारी संलग्न रहने प्राविधिक बैठक तीन महिनाभित्र गर्न मलेसिया तयार भएको छ ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ मा श्रम सम्झौता भएको थियो । सम्झौताले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को न्यायोचित भर्ना प्रक्रियालाई स्वीकार गरी मलेसियामा रोजगारदाता ‘पे मोडल’ (रोजगारदाता कम्पनीले नै म्यानपावर कम्पनीलाई सेवा शुल्क बुझाउनुपर्ने) लागू गरिएको थियो । जसअनुसार रोजगारदाताले म्यानपावरलाई प्रतिकामदार एक हजार रिंगेट दिनुपर्ने नियम छ तर मलेसियाको म्यानपावर कम्पनीमार्फत मागपत्र ल्याए नेपालको म्यानपावर कम्पनीले प्रतिव्यक्ति ५ सय रिंगेट मात्रै पाउने प्रावधान छ ।

नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता भनिए पनि यसको अझै पूर्ण कार्यान्वयन भएको छैन । मलेसियाको ग्लोब्स, इलोक्ट्रोनिक्स र प्लान्टेसन क्षेत्रका रोजगारदाताले मात्रै कामदारको शून्य नीतिलाई कार्यान्वयनमा ल्याएको छ । अन्य क्षेत्रमा जाने कामदारको लागत शुल्क बढेर ३ लाख ५० हजार रुपैयाँसम्म पुगिसकेको छ । यो विषयलाई श्रममन्त्री अर्यालले मलेसियाली गृहमन्त्रीसमक्ष राखेका छन् । अर्यालले निष्पक्ष तथा न्यायोचित भर्ना नीतिको प्रभावकारी कार्यान्वयन गर्नका लागि मलेसियालाई सहयोग गर्न आग्रह गरेका थिए । उनले श्रम सम्झौताको सेवा सर्त तथा सुविधा उपलब्ध गराउनुका साथै स्वदेशी तथा विदेशी कामदारबीच समान व्यवहार गर्न आग्रह गरे ।

बैठकमा मलेसियाली गृहमन्त्री इजमाइलले श्रम सम्झौता प्रभावकारी कार्यान्वयनको प्रतिबद्धता जनाएका थिए । मलेसियाले कामदार भर्ना प्रक्रियालाई छिटो र पारदर्शी बनाउने प्रक्रियामा काम गरिरहेको जानकारी दिएको छ । मलेसियाले नेपालका तर्फबाट कामदार भर्ना ढिलो भइरहेको प्रति ध्यानाकर्षण गराएको छ । कामदार ल्याउने स्रोत देशमध्ये सबैभन्दा झन्झटिलो प्रक्रिया नेपालमा भएको मलेसियाको ठम्याइ छ ।

मलेसियामा जाने कामदारमा सबैभन्दा बढी इन्डोनेसिया, दोस्रोमा बंगलादेश र तेस्रोमा नेपाल पर्छ । शून्य नीतिमा कामदार लैजाने श्रम सम्झौता गर्नेमा नेपाल मात्रै स्रोत देश हो । कोभिडपछि गत अप्रिलबाट कामदार लैजान थालेको मलेसियाले पछिल्लो ६ महिनामा मात्रै दुई लाख नेपालीलाई रोजगारी दिइसकेको छ । अझ मलेसियाको संवेदनशील क्षेत्रमा रहेको औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा तुरुन्तै ५ लाख नयाँ कामदार भर्ना गर्नुपर्ने दबाबमा मलेसिया छ । यो संख्या इन्डोनेसिया, बंगलादेश र नेपालबाट लैजानुपर्ने अवस्था छ तर इन्डोनेसियामा बहुराष्ट्रिय कम्पनी खुल्न थालेकाले विगतमा जस्तो कामदार गएको छैन ।

मलेसियाका लागि बंगलादेश र नेपालबाटै कामदार भर्ना गर्नुपर्ने स्थिति छ । नेपालका म्यानपावर व्यवसायी भने श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने हो भने नेपालबाट लैजाने कामदारको कोटा निर्धारण हुनुपर्ने बताउँछन् । व्यवसायी भने करोडौं रुपैयाँको लगानीलाई जोखिममा राखेर मलेसियाबाट मागपत्र ल्याइरहेको दाबी गर्छन् । बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीका अनुसार नेपालका लागि छुट्टै कोटा तोक्ने विषयमा भने सहमति जुटेको छैन ।

मलेसियाले नेपाली कामदारलाई उच्च प्राथमिकता राखेको भन्दै सेवा क्षेत्रअन्तर्गत पर्ने घरेलु कामदारका लागि खुला गर्न प्रस्ताव राखेको थियो । यो विषयलाई नेपालले संयुक्त प्राविधिक बैठकबाट टुंग्याउन खोजेको छ । गन्तव्य देशमध्ये सबैभन्दा बढी न्यूनतम तलब १५ सय रिंगेट (करिब ४५ हजार) पुर्‍याएपछि मलेसिया जाने नेपाली कामदारको आकर्षण बढेको छ । नेपाली कामदारको प्रमुख गन्तव्य कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स र कुवेतमा विगतका वर्षजस्तो कामदारको माग छैन । यी देशबाट कामदार माग नभएपछि आन्तरिक श्रम बजारमा मौज्दात रहेको श्रमशक्तिको दबाब मलेसियामा परेको छ । कामदारबीच पनि प्रतिस्पर्धा बढ्दा लागत शुल्क बढ्दै गएको छ ।

मलेसियन गृहमन्त्री इजमाइल सहितको टोलीले ई–भिसाको सहजीकरण गर्ने अधिकार पाएको इन्द्र ट्राभल एन्ड टुर, हेल्लो ट्राभल र मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्रमध्ये सिनामंगलस्थित अनमोल मेडिकल सेन्टरको अनुगमन गरेको थियो । उक्त सेन्टरसहित ३६ वटा स्वास्थ्य परीक्षण केन्द्र मलेसिया सरकारको विदेशी कामदार केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) सँग जोडिएका छन् । मेडिकल अनफिट हुनेको संख्या बढेको भन्दै मलेसियाले स्वास्थ्य मापदण्ड बनाई २०१४ देखि स्वास्थ्य परीक्षणमा कडाइ गर्दै आएको छ ।

स्वास्थ्य परीक्षण पास भएको रिपोर्टलाई सिधै मलेसियाको गृह मन्त्रालयले अपलोड गरेपछि मात्रै भिसा जारी हुने प्रावधान छ । शुक्रबार अनुगमनपछि मलेसियाका गृहमन्त्री इजमाइलले गुणस्तरीय स्वास्थ्य परीक्षणमा आफ्नो मन्त्रालयले जोड दिएको बताए । गृह मन्त्रालयले आवश्यकताअनुसार स्वास्थ्य परीक्षण केन्द्रको अनुगमन गर्न टोली पठाउने उनको भनाइ छ ।

प्रकाशित : माघ २१, २०७९ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×