भैरहवाका युवाको चासो- 'मिडियाले राजधानी बाहिरका विषय पनि उठाउनुपर्‍यो'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवाका युवाको चासो- 'मिडियाले राजधानी बाहिरका विषय पनि उठाउनुपर्‍यो'

कान्तिपुर संवाददाता

भैरहवा — भैरहवाका युवा उद्यमी, विद्यार्थी र स्थानीय सरोकार पक्षहरूले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सञ्चारमाध्यमले दबाब सिर्जना गर्नुपर्ने बताएका छन् । कान्तिपुर पब्लिकेसन्सद्वारा भैरहवामा आयोजित अन्तरक्रिया 'कफी विथ काठमाडौं पोस्ट'का सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।

अन्तरक्रियामा सहभागी अधिकांशले स्थानीय तथा क्षेत्रीय विषयलाई मिडियाले उठाउनु पर्ने भन्दै सुझाव दिएका थिए । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलले विदेशी एयरलाइन्सलाई आकर्षित गर्न नसक्दा अझै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । उक्त मुद्दा मिडियाले उठाउनुपर्ने भन्दै स्थानीयहरूले जोड दिएका हुन् ।

लुम्बिनी क्षेत्रका युवा उद्यमीहरूले स्टार्टअपहरू काठमाडौं उपत्यकामा धेरै केन्द्रित भएको भन्दै राजधानी बाहिरका क्षेत्र केन्द्रित स्टार्टअप सुरु गर्न उद्यमीहरूलाई आकर्षित गर्नुपर्ने बताएका थिए।

शुक्रबार भैरहवामा आयोजित उक्त कार्यक्रममा बोल्दै कान्तिपुर पब्लिकेसन्सका सीईओ महेश स्वारले यस कार्यक्रमले आफ्नो संस्थालाई युवाहरूको आवाज सुन्न र आम स्रोतामाझ पुग्न मद्दत पुग्ने बताएका थिए । 'हाम्रो उद्देश्य तपाइँहरूलाई सुन्नु हो । विशेषगरी नसुनिएका युवाका प्रतिक्रियालाई व्यवहारमा समावेश गर्ने प्रयास हो,' सीईओ स्वारले बताए ।


यस्तै काठमाडौं पोस्टका सम्पादक विश्वास बरालले आफूहरूले समेट्नुपर्ने युवाका प्रतिक्रिया सुन्न भैरहवामा आइपुगेको बताए । काठमाडौं पोस्टका पाठकले पत्रिका र डिजिटल प्लेटफर्ममा पनि के पढ्न र सुन्न चाहन्छन् भन्ने विषयबारे बुझ्न आफूहरू यहाँ पुगेको उनले बताए । 'हामी यहाँ द काठमाडौं पोस्टले समेट्नु पर्ने समस्याका बारेमा तपाईंको प्रतिक्रिया सुन्न आएका छौं। एक पाठकको हैसियतले अङ्ग्रेजी पत्रपत्रिकाले फरक ढंगले समेटेका विषयलाई कसरी खोज्दै हुनुहुन्छ ? द काठमाडौं पोस्टमा आजका युवाहरू के हेर्न चाहन्छन् ? भन्ने जान्न यहाँ आएका हौं,' सम्पादक बरालले भने ।

सम्पादक बराल, सीईओ स्वार र कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवालले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिएका थिए । अन्तरक्रियाका युवा सहभागीहरूले संघीयता सुदृढीकरणका लागि वकालत गर्ने हो भने पत्रिकाले प्रदेशका समाचार र विषयलाई बढी समेट्नुपर्ने सुझाव दिएका थिए ।

पोस्टका सम्पादक बरालले भने संघीयता र विद्यमान शासन प्रणालीको सुदृढीकरणका लागि आवाज उठाउने पोस्टको मुख्य प्राथमिकता रहेको बताए । कार्यक्रममा सहभागी केही विद्यार्थीहरूले नेपाली सञ्चारमाध्यमले क्षेत्रीय विषयलाई पर्याप्त ठाउँ नदिएको र केन्द्रीय राजनीतिजस्ता विषयमा केन्द्रित हुँदा आम जनताको पीडा ओझेलमा परेको गुनासो गरेका थिए । यस्तै केही सहभागीहरूले युवाहरूको रोजाइमा पर्ने फेसन र मनोरन्जनका विषयलाई पनि समेट्न सुझाव दिएका थिए ।

केहीले भने सांस्कृतिक मुद्दा र भिन्न समुदायलाई बढी प्राथमिकता दिनुपर्ने सुझाव दिए। यस्तै अन्तरक्रियामा मानसिक स्वास्थ्य, हिंसाविरोधी विषय लगायत मुद्दालाई पनि मिडियाले समेट्नुपर्ने सुझाव आएका थिए ।

कान्तिपुर पब्लिकेसन्सको आयोजनामा शनिबार हुने ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रममा राजनीतिज्ञ, विज्ञसहित अन्य सरोकारवालाले केही महत्त्वपूर्ण विषयमा विमर्श गर्नेछन् ।

प्रकाशित : माघ २०, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्

गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै बहानामा विशेषाधिकार दिन मिल्दैन : महामन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कारजस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार दिन नमिल्ने बताएका छन् । 

महामन्त्री थापाले ट्वीटरमार्फत नाबालिकामाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेको विषयमा बोल्दै बलात्कार अभियोग लागेको व्यक्तिलाई कुनै पनि विशेषाधिकार दिन नमिल्ने बताएका छन् ।

'बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्नँ,' उनले भनेका छन्, 'एक साताअघि नै यो प्रसंग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ)लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो । तर त्यसो हुन सकेनँ ।'

उनले अदालतमा विचाराधीन रहेको मुद्दामा क्यानले हतारोमा निर्णय गरेको भन्दै क्यानको निर्णय गलत भएको र तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

प्रकाशित : माघ २०, २०७९ १९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×