नेपालको विकास र जनताको खुसी भारतको चाहना : राजदूत श्रीवास्तव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको विकास र जनताको खुसी भारतको चाहना : राजदूत श्रीवास्तव

अवधेशकुमार झा

राजविराज — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतको जस्तो मैत्रीपूर्ण सम्बन्ध संसारको अन्य कुनै मुलुकमा नरहेको दाबी गरेका छन् । भारतीय दूतावासको सहयोगमा सप्तरीमा निर्माण भएको योजनाहरुको शुक्रबार राजविराजमा उद्घाटन गर्दै राजदूत श्रीवास्तवले दुई देशको मैत्रीपूर्ण समबन्ध अझै प्रगाढ बनाउन सबैको योगदान हुनुपर्ने बताए ।

'नेपाल र भारतबीचको जस्तो मैत्री सम्बन्ध संसारको अरु कुनै दुई देशमा छैन,’ राजदूत श्रीवास्तवले भने, 'नेपालको विकास र यहाँका जनताको खुसी हाम्रो चाहना हो ।’

पछिल्लो समय कालीगण्डकीबाट अयोध्या लगिएको शिलाले पनि दुई देशको स्नेहपूर्ण मित्रता प्रष्टिएको राजदूत श्रीवास्तवले बताए । राजदूत श्रीवास्तवले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा भारतीय दूतावासले सहयोग गरिरहेको चर्चा गर्दै भारत सरकारले नेपाली जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यमा सहयोग जारी राख्ने बताए ।

राजदूत श्रीवास्तवले दूतावासको सहयोगमा निर्मित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष तथा प्रसूति भवन, नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय बोरियाको भवन तथा जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरको भवन उद्घाटन गरे ।

प्रकाशित : माघ २०, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

ट्याङ्कर नियन्त्रणमा लिएर १६ हजार लिटर डिजेल चोरी

अवधेशकुमार झा

राजविराज — पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका ९ बाट योजनाबद्ध रुपमा ट्याङ्कर नियन्त्रणमा लिएर १६ हजार लिटर डिजेल चोरी गरिएको खुलेको छ ।

२० हजार लिटर डिजेल लिएर नेपाल आयम निगमको अमलेखगन्ज डिपोबाट निगमकै विराटनगरस्थित डिपोमा गइरहेको को १ ख ३६५५ नम्बरको टयाङ्कर गत शनिबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका ९ स्थित पेट्रोल पम्पबाट चोरी भएको थियो ।

माघ ११ गते अमलेखगन्जबाट विराटनगरका लागि उक्त टयाङ्कर चालक विनोद भुजेलले लिएर हिँडेका थिए । आइतबाट बिहान पूर्वपश्चिम राजमार्ग भन्दा उत्तरतर्फ शम्भुनाथ नगरपालिका २ खैरबनामा जंगल जाने बाटोमा स्थानीय बासिन्दाहरुले बेवारिसे अवस्थामा टयाङ्कर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अनुसन्धान सुरु गर्दै शंकास्पदहरुलाई सोधपुछ गरेपछि २० हजार लिटर डिजेल रहेको उक्त टयाङकरबाट १६ हजार लिटर डिजेल सप्तरीकै दुई पेट्रोल पम्पमा खन्याइएको खुलेको छ । कन्चनरुप नगरपालिका ९ स्थित पेट्रोल पम्पमा पार्किङ गरी चालक विनोद भुजेल रुपनगरस्थित आफ्नो घरमा सुत्न गएको बेला ट्याङ्कर चोरी भएको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा सो ट्याङ्कर पूर्वचालक नवराज भुजेल र अर्का चालक अनिल चौधरीको योजनामा चोरी गरी राजमार्गको बाटो हुँदै जण्डौलस्थित दिलिप ट्रेर्डस पेट्रोल पम्प र शम्भुनाथस्थित भण्डार आयल स्टोरमा लगेर डिजेल खन्याइएको थियो । पूर्वचालक भुजेल र अर्का चालक चौधरीको मिलेमतोमा ट्याङ्कर चोरिएको र चोरीपछि चोरीको डिजेल खरिद गर्ने कार्यमा दुईवटा पेट्रोल पम्पका संचालकको संलग्नता पाइएको छ ।

उक्त घटनाबारे अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी रामकुमार यादवले जम्मा २० हजार लिटर डिजेल रहेको टयाङकरबाट दुईवटा पेट्रोल पम्पमा गरी १६ हजार लिटर डिजेल निकालिएको र ४ हजार लिटर डिजेल ट्याङ्करमै छोडी पूर्वपश्चिम राजमार्ग भन्दा उत्तर शम्भुनाथ नगरपालिका २ खैरबनामा जंगल जाने बाटोमा छोडेर गएका थिए ।

चोरीको घटनापछि प्रहरीले डिजेल खन्याउने भण्डार आयल स्टोरका श्यामकुमार साहलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी यादवले बताए ।

प्रकाशित : माघ १७, २०७९ २०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×