मलेसिया-नेपाल सम्बन्ध नयाँ परिवेशमा लैजान आवश्यक : प्रधानमन्त्री दाहाल- समाचार - कान्तिपुर समाचार

मलेसिया-नेपाल सम्बन्ध नयाँ परिवेशमा लैजान आवश्यक : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।  सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले मलेसिया र नेपालबीचका द्विपक्षीय सम्बन्धलाई नयाँ परिवेशमा लैजान आवश्यक रहेको बताए ।

'मलेसियाले कामदारको तलब १५ सय रिंगेट पुर्‍याएकोप्रति आभार ब्यक्त गर्दछु’, भेटमा सहभागी मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, 'मलेसियाले कामदारको कल्याणकारी र सुरक्षाको क्षेत्रमा समयानुकूल नीतिहरु परिवर्तन गर्दै जानेमा विश्स्त छु ।’

प्रधानमन्त्री दाहालले सीपयुक्त कामदार विकासका लागि दुई देशबीच सहकार्यको आवश्यक भएको बताए । 'मलेसियाले नेपालको जलविद्युत्, हाइड्रोलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्छु’, उनले भने ।

भेटमा मलेसियाका गृहमन्त्री इजमाइलले नेपाली कामदारले मलेसियाको विकासमा योगदान पुर्‍याएको बताउँदै नेपाली कामदार मलेसियाको प्राथमिकतामा रहेको बताए । 'नेपाली कामदारको योगदानप्रति हामी उच्च प्रशंसा गर्छौं’, इजमाइलले भने, 'हाम्रो श्रमसँग अन्य क्षेत्रमा पनि नेपालसँग हातेमालो गर्न चाहन्छौं ।’

प्रकाशित : माघ २०, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्

एक वर्ष बितिसक्दा पनि भेटिएनन् सूर्यविनायकका न्यौपाने

कान्तिपुर संवाददाता

काठमाडौँ — परिवारका सदस्यलाई जानकारी नदिइकन घरबाट निस्किएका भक्तपुर सूर्यविनायकका महेन्द्र न्यौपाने एक वर्ष बितिसक्दा पनि सक्पर्कमा आएका छैनन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय न्यौपानेको खोजी जारी राखे पनि अझै भेटिएका छैनन् ।

दाजु नगेन्द्र न्यौपानेका अनुसार महेन्द्र २०७८ पुस २९ गते दिउँसो १ बजे सूर्यविनायकस्थित आफ्नै निवासबाट निस्किएका थिए । त्यसपछि घर नफर्किएका न्यौपानेको खोजीका लागि परिवारका सदस्यहरूले प्रहरीलाई आग्रह गरेका थिए ।

परिवारका अनुसार गहुँगोरो वर्णका न्यौपाने घर छाड्नुअघिसम्म बाक्लो दाह्री पालेका थिए । उनको खोजीका लागि भक्तपुरका विभिन्न स्थानसहित काठमाडौं बाहिर पुगे पनि अहिलेसम्म भेट्न नसकेको परिवारले जनाएको छ ।

प्रकाशित : माघ २०, २०७९ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×